काठमाडौं । १९९० सालको महाभूकम्प आउनुअघि बनेको सुन्धारास्थित केन्द्रीय कारागारको भौतिक संरचना यसपटकको भूकम्पले क्षतविक्षत बनाएको छ। वैशाख १२ गते भूकम्प जाँदा यही कारागारका १७ जनाले ज्यान गुमाएका थिए। जगन्नाथ देवलमा रहेको केन्द्रीय कारागार इँटा र माटोको प्रयोग गरी १९८१ सालमा बनेको हो। कारागार चारैतिर चिरिएर कुनै पनि बेला ढल्ने अवस्थामा छ। नेपाल बार एसोसिएसनको स्थलगत अनुगमनका बेला बिहीबार कारागारमा रहेका कैदीबन्दीले दुवै हात जोडेर जिउज्यान जोगाइदिन अनुनय विनय गरे।
उनीहरू भूकम्पले पट्पटी फुटाएको भित्तोमुनि बसेर दिनरात काटिरहेका छन्। नजिकै रहेको सीटीसी मल पनि भूकम्पले क्षति पुर्याएका कारण अर्को जोखिम छ।ुभुइँचालो नआए पनि जुनसुकै बेला गल्र्याम्म ढल्ने स्थिति छ। ‘यहाँबाट सुरक्षाका लागि अन्यत्र भाग्ने अवस्था पनि छैन’, भद्रबन्दीगृहमा चौकीदार रहेका लक्ष्मीप्रकाश सक्सेनाले भने, ‘पानी र बतासमा पनि ओत लाग्ने ठाउँ छैन।’ करिब तीन सय ५० क्षमताको यो कारागारमा अहिले ६ सय ५६ जना कैदी बन्दी छन्। तीनजना सुत्न मिल्ने ओछ्यानमा सातजनासम्म कोचाकोच गरेर बसेका छन्।
भूकम्प जाँदा जगन्नाथदेवलस्थित भद्रबन्दीगृहको पुरानो भित्री भवनमा च्यापिएर ४० जना घाइते भएका थिए। कारागारका मूल नाइके गोविन्द कार्कीका अनुसार घाइतेमध्ये नौजना पूरै अपांग बनेका छन्। गम्भीर घाइते बनेका कतिपयका खुट्टा काटिएको छ। बन्दीहरूले चारैतिर फुटेको अग्लो पर्खालमुनि भान्सा लगाएका छन्। शौचालय र खानेपानीका पाइप पनि फुटेर लथालिंग छन्। ‘झर्न लागेको गारोमुनि पाल लगाइएको छ। भत्के सबै खत्तम हुने अवस्था छ’, भित्तो देखाउँदै थुनामा रहेका संयुक्त जातीय मुक्ति मोर्चाका कार्यकर्ता देवराज लामाले भने। जगन्नाथ देवलमा रहेको महिला जेलको पनि उस्तै अवस्था छ। सबै महिला बन्दी भयग्रस्त छन्। बन्दीका छोराछोरी पढाउन स्थापना गरिएको जगन्नाथ स्कुल र अस्पताल पनि जोखिममा छन्। ‘सबै कैदीबन्दीको तुरुन्त जेल स्थानान्तरण गर्नुपर्ने अवस्था देखियो’, अनुगमनमा पुगेका बार महासचिव सुनिल पोखरेलले भने,‘जेल नपुगे सिंहदरबारभित्र पालमुनि भए पनि सार भनेर हामीले लिखित रूपमै सरकारलाई भन्छौं।’ बार उपाध्यक्ष टीकाराम भट्टराईले विक ल्पविहीन अवस्थामा राज्यबाटै धराप थापेर मर्न विवश बनाएको बताए। भयग्रस्त अवस्थामा बस्न कठिन भएको भन्दै थुनाका व्यक्तिले बाँकी कैद मिनाहा गरेर राष्ट्रनिर्माणको काममा लगाउन सरकारसँग माग गरेका छन्।