नेभिगेशन
अन्य

फरार दुई अभियुक्तसहित तीनजना पक्राउ

रत्ननगर । विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भएर दोषी ठहर भई कैद तोकिएका दुई र चोरीको आरोप लागेका एक विदेशीसहित तीन जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । चितवनको नारायणगढमा चोरीको आरोपमा सिरियाली नागरिक जोन मासाक्वी र मानव बेचबिखन तथा ओसारपसार मुद्दामा १० वर्ष कैद सजाय पाएर पनि फरार रहेका रत्ननगर–४ बस्ने वर्ष ५७ को राजकुमार पाण्डेलाई पक्राउ गरिएको प्रहरीले आज जनाएको छ । त्यसैगरी लागुऔषध मुद्दामा सात महिना कैद रु दुई हजार जरिवाना सजाय पाएर फरार रहेका भरतपुर–७ बस्ने वर्ष २६ को नुना भन्ने सुरेन्द्र गुरुङलाई पनि प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । सिरियाली नागरिक मासाक्वीले भरतपुर–४ सङ्गमरोड नारायणगढस्थित अन्नपूर्ण इलेक्ट्रोनिक्स एन्ड सप्लायर्स पसलका सञ्चालक राजु आचार्यलाई झुक्याई रु पाँच लाख चोरी गरी फरार भएको ओरापमा प्रहरीले पक्राउ गरेको जनाएको छ । उनलाई रु चार लाख ९० हजार नगदसहित कास्कीको पोखरा–६ खहरेस्थित होटल फरेस्टमा लुकीछिपी रहेको अवस्थामा पक्राउ गरिएको प्रहरी निरीक्षक रुगम कुँवरले बताए । उनका बारेमा प्रहरीले थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्