नेभिगेशन
अन्य

कक्षा सञ्चालन अघि विद्यालयमा मनोसामाजिक परामर्श

काठमाडौंं । शिक्षा मन्त्रालयले भूकम्प प्रभावित जिल्लामा पठनपाठन सञ्चालन गर्नुअघि मनोसामाजिक परामर्श दिनेसम्बन्धी शिक्षक–पठन सामग्री तयार गरी प्रशिक्षण प्रारम्भ गरेको छ । मन्त्रालयअन्तर्गतको शैक्षिक जनशक्ति विकास केन्द्रले मनोसामाजिक परामर्श दिन तालिम, सुरक्षाका उपाय र सामग्री मुद्रण गरेको हो । मन्त्रालयले जेठ १७ गतेबाट विद्यालय खोल्ने तर तत्काल कक्षा सञ्चालन हुनसक्ने अवस्था नभएमा उचित वातावरण निर्माण गरेर क्रमशः कक्षा सञ्चालन गर्न आग्रह गरेको छ । वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण विभिन्न १४ जिल्लामा मानवीय र भौतिक क्षति भएको तथा विद्यालय भवन पनि भत्केकाले बालबालिकालाई सामान्यीकरण गर्न मन्त्रालयअन्तर्गतको शैक्षिक जनशक्ति विकास केन्द्रले प्रशिक्षण प्रारम्भ गरेको हो । शिक्षा विभागले यसअघि नेपाल शिक्षक महासङ्घ र अन्य संस्थासँग सहकार्य गरी एक हजार १२० शिक्षकलाई अभिमुखीकरण दिइसकेको छ । विद्यालय सञ्चालन गर्नुअघि विद्यालयमा प्राविधिक परीक्षण गरिनेछ । केन्द्रका कार्यकारी निर्देशक खगराज बरालका अनुसार करिब रु डेढ करोडका लगानीमा तयार ती सामग्री हालसम्म छ जिल्लामा सो प्रशिक्षण भइरहेको र चाँडै बाँकी जिल्लामा सञ्चालन गरिनेछ । सो पठनपाठन सामग्रीमा साङ्गीतिक थेरापी, बालगीत, खेल सञ्चालन विधिलगायत समावेश छन् । जेठ १ गतेबाट विद्यालय खोल्ने तयारी भएकामा गत वैशाख २९ गतेको शक्तिशाली पराकम्पनपछि सरकारले जेठ १५ गतेसम्म विद्यालय बन्दको निर्णय गरेको थियो । सरोकार भएकाले भने विद्यार्थीलाई थप त्रास सिर्जना नगर्न सकेसम्म १७ गतेभन्दा अगावै विद्यालय खोल्न र सुरक्षा सचेतना अपनाउन जोड दिएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्