धनगढी । केही दिनदेखि बढेको गर्मीका कारण पश्चिमी तराईका कैलालीलगायतका जिल्लाको जनजीवन प्रभावित भएको छ । गर्मी बढेसँगै जिल्लाका स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्न थालेको छ । गर्मीका कारण स्वास्थ्य संस्थामा रिङ्गटा लाग्ने, वाकवाकी हुने, टाउको दुख्ने, ज्वरो आउने बिरामीको सङ्ख्या बढ्न थालेको स्वास्थ्यकर्मीले बताएका छन् । गर्मी मौसममा मानिसको शरीरमा रहेको पानीको मात्रा पसिनाको रुपमा बाहिर निस्किने भएकाले बढी झोलयुक्त खानेकुरा खान र स्वच्छ पानी पिउनुपर्ने सल्लाह स्वास्थ्यकर्मीको छ । गर्मी बढेसँगै चुरे क्षेत्रका बस्तीमा पानीका मूल सुक्न थालेपछि खानेपानीको समस्या सिर्जना हुन थालेको गोदावरी गाविसका स्थानीय सरस्वती विकले बताए । बढेको गर्मीले विद्यालयका छात्रछात्रा, वृद्धवृद्धा, मजदुर बढी प्रभावित हुने गरेका छन् । गर्मी बढ्दै जाँदा स्थानीय बजारमा उखुको जुस, खरभुजा, काँक्रा, चिसो पेय पदार्थ जस्ता बस्तुको बिक्री भने ह्वात्तै बढेको छ । बढेको गर्मी छल्नका लागि स्थानीय कतिपय सर्वसाधारण दिउँसोको समयमा कैलाली जिल्लाको चुरे पहाडमा रहेको चिसो मौसमयुक्त खानीडाँडा र बुढीतोलासम्म पुग्ने गरेका देखिन्छन् । धनगढी–डडेलधुरा राजमार्ग छेउमै पर्ने यी क्षेत्र प्राकृतिक दृष्यावलोकनका लागिसमेत आकर्षकस्थलका रुपमा रहेका छन् ।