नेभिगेशन
अन्य

नेपाली कांग्रेसका युवाले बनाइदिए भूकम्पपीडितलाई टहरो

गोरखाबजार । गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पले घर ध्वस्त बनाएपछि त्रिपाल टाँगेर बारीको पाटामा बस्दै आएका गोरखाको पालुङटार नगरपालिका–६ माल्ती गैराका भूकम्पपीडितलाई नेपाली कांग्रेसका युवा नेता एंव केन्द्रीय सदस्य प्रदीप पौडेल नेतृत्वका युवाले टहरो बनाइदिएका छन् । पौडेल नेतृत्वमा गाउँ पुगेका युवाले भूकम्प प्रतिरोधात्मक टहरो निर्माण गरी दिएपछि भूकम्पपीडित खुसी भएका छन् । युवाले मङ्गलबार दिउँसोदेखि धमाधम टहरो निर्माणको कामलाई अघि बढाएका हुन् । टहरो निर्माणका लागि पौडेल नेतृत्वमा १०० जना युवा माल्ती गैरा आइपुगेका छन् । शत्र जना इन्जिनियरसहितको टोलीले मङ्गलबार १५ वटा टहरो निर्माण गरिसकेको छ । बाँकी टहरो आज बेलुकीसम्म निर्माण गरिसक्ने टोलीका प्रमुख काँग्रेस केन्द्रीय सदस्य पौडेलले जानकारी दिए । ‘गाउँमा युवा छैनन्’ उनले भने,‘ बर्खा आइसक्यो । भूकम्पपीडितलाई घामपानीबाट जोगाउन टहरो निर्माण अभियानमा जुटेका हौँ ।’ टहरो निर्माण अभियानमा पौडेललाई नेपाल विद्यार्थी सङ्घले सघाएको छ । पौडेलको नेतृत्वमा गोरखा, सिन्धुपाल्चोक, रामेछापलगायत भूकम्प प्रभावित १४ जिल्लामा एक हजार ५०० टहरो निर्माण सुरु भएको हो । टहरो निर्माणका लागि आवश्यक जस्तापाता हाल बेलायत रहेका अनिल आचार्यले सहयोग गरेको नेविसङ्घका प्रचार विभाग प्रमुख रामप्रसाद अधिकारीले जानकारी दिए । टहरो निर्माणमा युवासँगै गाउँका भूकम्पपीडितले पनि सघाएका छन् । त्रिपन्न वटा टहरो निर्माण गरेर उक्त टोली आज सिन्धुपाल्चोक जाने तयारीमा छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्