काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता प्रदीप पौडेलले भूकम्पका कारण बसोबास गुमाएका ५ सय परिवारका लागि अस्थायी घर निर्माण गरिदिने घोषणा गरेका छन् । पौडेलले आफ्नो नेतृत्वमा भूकम्प प्रभावित जिल्लाहरुमा १५ सयभन्दा बढी युवाहरु परिचालन गरी ५ सय घर टहरा निर्माण गर्ने घोषणा गरेका हुन् ।
नेपाली कांग्रेसले श्रमदान गर्ने निर्णय गरेअनुसार हामी आफैले आवश्यक निर्माण सामाग्रीको जोहो गरेर विभिन्न प्रभावित गाउँहरुमा ५ सय घर टहरा निर्माण गर्नेछौं ’, पौडेलले भने । अभियानका लागि नेपाली कांग्रेसमा आबद्ध १ हजार ५ सय बढी युवा परिचालन गरिने र त्यसमा १ सय युवा ईन्जिनियरहरु पनि सहभागि हुने पौडेलले जानकारी दिए । अभियानको पहिलो चरणमा गोरखाको पालुङटारस्थित माल्ती गैरा गाउँमा ३५ अस्थायी घर निर्माणका लागि पौडेलको नेतृत्वमा १ सय युवा स्वंयसेवक सोमबार नै गोरखातर्फ प्रस्थान गरेका छन् ।
पिडितलाई सहयोग गर्ने सन्दर्भमा सरकारको मात्रै मुख ताक्नु नहुने भन्दै ५ सय घर निर्माणका लागि आफूले अग्रसरता लिएको उनले बताए । ‘हामी युवाहरु क्रियाशील भयौं भने अस्थायी घर बनाउने काम केही दिनमै सकिन्छ । त्यसैले म आफैले यो अभियानको सुरुवात गरेको हुँ । यसमा धेरै युवा साथीहरुको साथ रहनेछ’, पौडेलले पत्रकार सम्मेलनमा भने । अस्थायी घर निर्माणका लागि आवश्यक पर्ने जस्तापाता, काँटी, तार, बाँस लगायतका सामाग्री विभिन्न दाताहरुसंग सहयोग स्वरुप माग गरिएको उनले जानकारी दिए । अभियान अन्तर्गत निर्माण हुने घर एघार फिट चौडा र १६ फिट लम्बाईको हुनेछ । २ कोठे अस्थायी घरमा ५ जनासम्मको परिवार सहजै बस्न सक्नेछन् ।
वर्षायामसम्मका लागि पिडितलाई तत्काल अस्थायी घरको आवश्यकता भएकोले अभियान थालिएको पौडेलको भनाई छ । उनले भूकम्पका कारण बसोबास गुमेका परिवारका लागि १ वर्षभित्र सरकारले स्थायी भूकम्प प्रतिरोधी घरको व्यवस्था गर्नुपर्ने मागसमेत राखे ।
गोरखाको पालुङटारस्थित माल्ती गैरामा पहिलो चरणमा घर निर्माण गर्न युवा उद्यमी अनिलराज आचार्यले प्रति घर एक बण्डल जस्ता उपलब्ध गराएका छन् । गोरखाका पछि रामेछाप, दोलखा, सिन्धुपाल्चोक, धादिङसहितका प्रभावित जिल्लाको कुनै एक गाउँमा पुगेर अस्थायी घर निर्माण गरिने पौडेलले बताए ।