काठमाडौं । भूकम्पका कारण तीन सातादेखि ठप्प रहेको सेयर कारोबार अझै एक साता बन्द हुने भएको छ । नेपाल स्टक एक्सचेञ्जले आइतबार एक सूचना जारी गरी आउदो आइतवारदेखि मात्रै सेयर कारोबार नियमितरुमा सुचारु हुने जनाएको छ ।
यसअघि नेप्सेले आइतबार जेठ ३ गतेदेखि सेयर कारोबार सुचारु गर्ने तयारी गरेको थियो । सिडिएस एण्ड क्लियरिङका कर्मचारी भूकम्प त्रासका कारण कार्यालय उपस्थित हुन नमानेपछि एक साताका लागि सेयर कारोबार रोक्ने निर्णय गरिएको नेप्सेले जनाएको छ ।
लामो समय सेयर कारोबार ठप्प हुँदा लगानीकर्तामा नकरात्मक असर पर्ने भन्दै अर्थ मन्त्रालयले यथासक्दो चाँडो कारोबार सुचारु गर्न नेप्सेलाई निर्देशन दिइसकेको छ । त्यस्तै, नियामक निकाय धितोपत्र बोर्डले पनि कारोबार सुचारु गर्न नेप्सेलाई दबाब दिइसकेको छ ।
लगानीकर्ताका संघसस्था, मर्चेन्ट बैंकर, केही ब्रोकर कम्पनीले कारोबार गर्न नसक्ने आशयको पत्र नेप्सेमा दर्ता गराएका छन् ।
नेप्से सञ्चालक समितिमा दैनिक एक घण्टा मात्रै बजार खोल्ने र पाँच प्रतिसत भन्दा बढी बजार घटबढ हुँदा सर्किट ब्रेक लगाउने विषयमा छलफल गरेको थियो । तर, सिडिएसबाट काम नहुने भएपछि एक हप्ताका लागि कारोबार स्थिगित गरिएको हो । आइतबार देखिनै सिडिएसीको कार्यालय नेप्सेमा सारिने भएको छ ।