नेभिगेशन
अन्य

सरकारको राहत वितरण प्रभावकारी भएन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूकम्पपीडितका लागि सरकारले गरिरहेको राहत वितरणको कार्य प्रभावकारी नभएको बताएका छन् । बाइसौँं मदन आश्रित स्मृति दिवसका अवसरमा आज पार्टी कार्यालय मदननगर बल्खु परिसरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले आफ्नो पार्टी सरकारको प्रमुख घटक भए पनि कहाँबाट कति राहत आएको छ कसरी वितरण भइरहेको छ भन्नबारेमा जानकारी नभएको गुनासो गरे । उनले भने–‘सरकारले राहत वितरणमा सबैलाई समेटेर लान सक्नुपर्छ, कहाँबाट कति सहयोग आयो र कसरी वितरण भइरहेको छ भन्नेबारे जनतालाई स्पष्ट पार्नुपर्छ ।’ उनले मनसुन अगावै पुनःस्थापनाको काम पूरा गर्न सरकारलाई आग्रह गरे । एमालेका महासचिव ईश्वर पोखरेलले जननेता मदनकुमार भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद थप सान्दर्भिक भएको र त्यसलाई पार्टीले दृढताका साथ कार्यान्वयन गर्ने बताउनुभयो । कार्यक्रममा अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्षद्वय वामदेव गौतम र विद्यादेवी भण्डारी लगायतले २०५० सालमा आजैका दिन चितवनको दासढुङ्गामा भएको सवारी दुर्घटनामा निधन हुनुभएका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको तस्बिरमा माल्यार्पण गरेका थिए । यसैबीच भूकम्पपीडितका लागि राहत र पुनःस्थापनालगायत विषयमा छलफल गर्न अहिले पार्टी कार्यालयमा राखिएको त्रिपालमा एमालेको स्थायी कमिटीको बैठक बसिरहेको छ । भूकम्पका कारण एमाले मुख्यालयमा पनि क्षति पुगेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्