सिड्नी । गत महिना नेपालमा गएको विनासकारी महाभूकम्पका कारण ज्यान गुमाएका आफन्त, घाइते तथा वेघरवार बनेका नेपालीहरुलाई सहयोग गर्ने हेतुले अस्ट्रेलियामा यहि मे २७ तारिख बुधवारका दिन एक च्यारिटी डिनरको आयोजना गरिने भएको छ ।
एन एस डब्लु पार्लियामेन्ट हाउसको फङसन हलमा साँझ ६ बजेदेखि राति ९ बजेसम्म चल्ने सो च्यारिटी डिनर कार्यक्रममा प्रवेश शुल्क एक सय पचास अस्ट्रेलियन डलर तोकिएको छ । सो कार्यक्रमबाट उठेको सम्पूर्ण रकम नेपालमा भूकम्प पिडितहरुलाई पठाइने कार्यक्रमको संयोजन गरिरहेका मध्येका एक नेपाली सोलिसिटर शम्शेर थापाले नेपाल न्युज अस्ट्रेलियालाई बनाए । “अर्थक्वीक भिक्टीम अफ नेपाल” नाम दिइएको सो च्यारिटी डिनर एन एस डब्लुका एम पि मार्क केउरी तथा एनएसडब्लुका नेपाली महावाणिज्यदुत दिपक खड्काको संयुक्त आह्वानमा हुने जनाइएको छ । सोलिसिटर थापाले उक्त कार्यक्रम कुनै पार्टीगत रुपमा नभई नितान्त स्वतन्त्र रुपमा नेपाललाई सहयोग गर्ने उद्वेश्यले सबै पार्टीको मानिसहरुलाई आमन्त्रण गरेर गरिन लागेको बताए ।
सो कार्यक्रममा उपस्थितिको लागि दिपक खड्का (Email: [email protected] Telephone: 02 9460 0388 Mobile: 0439 491 669 _ ) इन्द्रा वन (0409 774 950 ) अथवा शम्शेर थापालाई (Email : [email protected] ) मा सम्पर्क गरि २१ मे भित्र आफ्नो नाम टिपाउन सक्नुहुनेछ । महावाणिज्यदुत खड्काले भने– “यस्तो विपतको वेला नेपाल पूर्ननिर्माणको लागि सबैले आ–आफ्नो ठाउँबाट सकेको सहयोग गर्नुपर्दछ ।” खड्काले आफैले पनि दोलखा जिल्लाको थामी जातिको बाहुल्यता रहेको गाउँ टाँगुमा विपन्न परिवारको लागि घर निर्माणमा एक करोड पाँच लाख सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । अबको केही महिना भित्रै नेपाल गएर सो ठाउँको वस्तुस्थिति बुझेर एउटा ट्रष्ट स्थापना गरी सो क्षेत्रमा सहयोग गर्ने खड्काले बताए ।
सो कार्यक्रममा अस्ट्रेलियाका सबै पार्टीका राजनीतिज्ञहरुले आफ्नो उपस्थिति र सहयोग रहने प्रतिवद्धता जनाएका छन् ।