भक्तपुर । पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आज भूकम्पबाट क्षतिग्रस्त भक्तपुरका विभिन्न सम्पदाको अवलोकन गरेका छन् । उनले भक्तपुरको विश्वसम्पदा सूचीमा सूचीकृत दरबारस्क्वायर, राष्ट्रिय कला सङ्ग्रहालय, पचपन्न झ्याले दरबार, यहाँका क्षतिग्रस्त अन्य सम्पदा तथा पाँचतले मन्दिरको अवलोकन गरे । देउवालाई नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापति गणेशमान चक्रधरले यहाँका सम्पदा र भूकम्पले पु¥याएको क्षतिका बारेमा जानकारी गराएका थिए । भक्तपुरको सम्पदा अवलोकन गरेपछि उनले अर्को विश्वसम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिरको समेत अवलोकन गरेका थिए । चाँगुनारायण मन्दिरमा पुगेर यहाँको क्षतिका बारेमा जानकारी लिनुका साथै सम्पदाबारे चासो दिएका थिए । अवलोकनपछि देउवाले भूकम्पबाट क्षतिग्रस्त सम्पदाको तत्कालै पुनःनिर्माणको कार्यलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । नेपालको पहिचान सम्पदा नै भएकाले यसलाई दुरुस्तै बनाउन र मर्मत गर्नुपर्ने सम्पदाको तत्काल मर्मत गर्न सरकारले ध्यान दिनुपर्ने बताए । भूकम्पबाट घरबास गुमाएका पीडितलाई सरकारले तत्काल दुई बन्डल जस्ता र रु २५ हजार उपलब्ध गराउनु पर्ने बताउँदै उनले भने–‘वर्षा सुरु हुन लाग्यो, वर्षा सुरु हुनुअघि नै सरकारले घरबार गुमाएका पीडितलाई तत्काल अस्थायी पुनर्वासका लागि दुई बन्डल जस्ता र रु २५ हजार उपलब्ध गराउनु पर्छ, यसमा म पहल गर्छु ।’देउवाले सरकारले राहत वितरणलाई प्रभावकारी बनाउनुपर्ने पनि बताए ।