काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले नेपालको आर्थिक विकासको आधारका रुपमा लिइएको पर्यटन उद्योगलाई पुनरुत्थान गर्न सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । प्रधानमन्त्री कोइरालाले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा होटल सङ्घ नेपाल(हान)ले भूकम्पपीडितका लागि प्रदान गरेको राहत रकम ग्रहण गर्दै मुलुकको आर्थिक विकासको आधारका रुपमा रहेको पर्यटन उद्योग र व्यवसायीलाई सघाउन सरकार तयार रहेको बताए । हानले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु १५ लाख सहयोग गरेको छ । सो अवसरमा हानका अध्यक्ष विके श्रेष्ठले भूकम्पका कारण होटल व्यवसाय सङ्कटग्रस्त भएको बताउँदै समग्र पर्यटन व्यवसायको विकासका लागि आवश्यक देखिएर प्रधानमन्त्रीको अध्यक्षतामा बनाइएको पर्यटन परिषद्को बैठक अविलम्ब बोलाएर पर्यटन व्यवसायलाई जोगाउने कार्यक्रम ल्याउन माग गरे । उनले सरकारले पर्यटन क्षेत्रको विकासका लागि तयार गरेको पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमजस्ता संस्थामा समेत सक्षम नेतृत्व ल्याएर सङ्कटबाट पर्यटनलाई बचाउने कार्यको थालनी गर्नुपर्ने सुझाव पनि दिए । नगरकोट र साँखु क्षेत्रका ६०० परिवारलाई राहत बाँड्ने कार्यक्रम हानको छ ।