काठमडौं । व्यावस्थापिका संसदको राष्ट्रिय बिपत व्यवस्थापन, अनुगमन तथा निर्देशन समितिको निर्णय अनुसार भूकम्प प्रभावित जिल्लाको अनुगमन गर्न आज सभासदसहितको टोली ती जिल्ला जाने भएको छ । राष्ट्रिय विपद व्यस्थापन, अनुगमन तथा निर्देशन विशेष समितिले भूकम्पबाट बढी प्रभावित १४ जिल्लामा सरकारका कामकारवाहीको अनुगमन तथा निर्देशन गर्न १४ वटा टिम बनाएको छ । त्यो टीमलाई आज प्रभावित जिल्लामा पठाइनेछ । सभामुख सुवासचन्द्र नेम्वाङ सभापति रहेको समितिको बिहीबार बसेको पहिलो बैठकले प्रभावित जिल्लामा अनुगमन उपसमिति खटाउने निर्णय गरेको हो ।
चार सभासद र सचिवालयका एक कर्मचारी रहेको पाँच सदस्यीय उपसमिति प्रभावित १४ जिल्लाका लागि प्रस्थान गर्नेछन् । उपसमितिलाई एक गतेदेखि पाँच गतेसम्मको समय तोकिएको छ । अनुगमन टिमले जिल्लामा भएको राहत वितरणको अवस्था, पुनर्निर्माण र नवनिर्माणमा सरकारले गर्नुपर्ने काम र भइरहेका सरकारी कमीकमजोरीका विषयमा रिपोर्ट तयार पारेर समितिमा पेश गर्नेछ । अनुगमन तथा निर्देशन समितिले त्यही रिपोर्टका आधारमा सरकारलाई आवश्यक सुझाव तथा निर्देशन दिने छ । समितिले भूकम्प प्रभावित १४ जिल्लाका सांसद्लाई आ–आफ्नो जिल्लामा खटिएर काम गर्न निर्देशन दिएको छ । यस्तै प्रभावित क्षेत्रभन्दा बाहिरका अन्य जिल्लाका सांसद्लाई जिल्लामा खटिन र समितिमा नभएका अन्य सभासदलाई राहत संकलनमा जुट्न पनि निर्देशन दिएको छ ।
यसैगरी समितिले सरकारले गरेको यस अघिको उद्धार तथा राहत वितरण, पुननिर्माण र नवनिर्माण्मा सरकारको प्रतिबद्धता कार्यान्वयन गर्ने कार्ययोजना तत्काल लिखित रुपमा समितिमा पेश गर्न निर्देशन दिएको छ ।
समितिले सरकारले यसअघि गरेको उद्धार तथा राहत वितरणका क्रममा भएको स्रोत परिचालन तथा खर्चको विवरण लिखितरुपमा पेश गर्न पनि सरकारलाई निर्देशन दिएको छ । समितिले उद्धार तथा राहतमा स्रोत परिचालनमा अन्तराष्ट्रिय रुपमा भएको खर्चको विवरणपनि मागेको छ ।
समितिले उद्धार तथा राहत वितरण प्रभावित सबै ठाउँमा पुगे नपुगेको बारे जानकारी गराउन इमेल सेवा तथा सर्वसाधारणले नै फोनमार्फत जानकारी गराउनेगरी टोल फ्री नंबरसहितको २४ घण्टे सेवासहितको सूचना केन्द्र पनि स्थापना गर्ने निर्णय गरेको छ ।
व्यवस्थापिका संसदको बुधबारको बैठकले भूकम्प प्रभावितको उद्धार, पुनःस्थापना र पुनःनिर्माणसम्वन्धी २७ बुँदे साझा संकल्प प्रस्ताव पारित गर्दै सबै दलका सदस्यहरु रहेको अनुगमन तथा निर्देशन विशेष समिति गठन गरेको थियो ।