काठमाडौं । व्यवस्थापिका संसदको विषेश अधिवेशनले पास गरेको साझा संकल्प कार्यान्वयनका विषयमा आजदेखि छलफल सुरु हुने भएको छ । संकल्प प्रस्तावको कार्यन्वयनका बिषयमा छलफल गर्नका लागि संसदले गठन गरेको राष्ट्रिय विपद् व्यवस्थापन, अनुगमन तथा निर्देशन विशेष समितिको पहिलो बैठक आज बस्दैछ । बैठकमा कार्यान्वयनको प्रक्रिया, त्यसका लागि बनाउने संयन्त्र लगायतका विषयमा छलफल हुनेछ । राष्ट्रिय योजना आयोगले बनाइरहेको पुनः निर्माण र विस्थापितहरुको पुनःस्थापना लगायतका विषयमा पनि छलफल हुनेछ ।
दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा सबै सदस्यलाई अनिवार्य उपस्थिति भनिएको छ । यही वैशाख १२ गतेको विनाशकारी भूकम्पले पुर्याएको अकल्पनीय मानवीय तथा भौतिक क्षतिप्रति राजनीतिक दलहरूले गहिरो दुःख व्यक्त गर्दै सबै मतान्तर बिर्सिएर सहकार्य, सहमति र एकताका साथ कार्य गर्ने प्रतिज्ञासहित गत शनिबार सो प्रस्ताव प्रस्तुत गरेका थिए ।
व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गरेका २५ दल र दुई जना स्वतन्त्र सांसद्ले प्रस्तावको समर्थन गरेका थिए । सरकारलाई दिएको निर्देशनमा भूकम्पपीडितको राहत, पुनःस्थापना र पुनःनिर्माणको कामलाई राष्ट्रिय अभियानका रुपमा सञ्चालन गर्न सबै निकायलाई क्रियाशील एवम् प्रभावकारी बनाई समन्वय कायम गर्दै विस्तृत कार्ययोजनालाई चरणबद्ध रुपमा कार्यान्वयन गर्ने, भूकम्पका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई उचित राहत रकम अविलम्ब उपलब्ध गराउने, भूकम्पमा परी घाइते भएका व्यक्तिको निःशुल्क उपचारको व्यवस्था गर्ने र यस क्रममा अपाङ्गता भएका व्यक्तिलाई थप राहत प्रदान गर्ने बुँदाहरु छन् ।