नेभिगेशन
अन्य

उद्धारमा खटिएको अमेरिकी सेनाको हेलिकप्टर सम्पर्कविहीन

काठमाडौं । ठूलो भूकम्पलगत्तै खोज तथा उद्धारका लागि दोलखातर्फ उडेको अमेरिकी सेनाको मरिन यूएच वानएच हेलिकप्टर मंगलबार दिउँसोदेखि सम्र्पकविहीन भएको छ । सैनिक प्रवक्ता सहायकरथी जगदीशचन्द्र पोखरेलका अनुसार दोलखाको सुनखानी क्षेत्रमा गएको उक्त हेलिकप्टर दिउँसो २.३० बजेबाट सम्पर्कविहीन भएको हो । ‘हामीले खोजीकार्यका लागि फौज परिचालन गरेका छौं तर अहिलेसम्म फेला परिसकेको छैन,’ उनले भने । सेनाका अनुसार हवाई र पैदल फौजबाट हेलिकप्टरको खोजीकार्य जारी छ । हेलिकप्टरमा एक नेपाली लियाजन अधिकृत र कम्तीमा दुई अमेरिकी चालक छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार भीई जिरो वान कलसाइन भएको यो हेलिकप्टर बिहान ९ बजेर १७ मिनेटमा काठमाडौंबाट बाहिर उडेको थियो भने ११ बजेर ३७ मिनेटमा फर्किएको थियो । तर, पछि कति बजे उड्यो भन्नेबारे विमानस्थललाई थाहै छैन । विमानस्थल उच्च स्रोतका अनुसार, दिउँसो २ बजे यसले चरिकोटबाट सरकिट रिपोर्ट गरेको छ । त्यसपछि सम्पर्कमा आएको छैन । ु‘भुइँचालो गएपछि यो हेलिकप्टर कतै उड्यो । त्यतिबेला हामी रनवे बन्द गरेर टावर खाली गरी त्रासले मैदानमा ओर्लिएका थियौं,’ स्रोत भन्छ,‘त्यसबेला यो उडेको हुनुपर्छ । हामी त्यतिबेला टावरमा थिएनौं ।’ कामु महाप्रबन्धक वीरेन्द्रप्रसाद श्रेष्ठका अनुसार १२ बजेर ५६ मिनेटमा भूकम्प आएपछि रनवे बन्द गरिएको थियो र २ बजेर ५५ मिनेटमा खुला गरिएको थियो । त्यसबीचमा थुप्रैै हेलिकप्टर उद्धारका लागि उडेका थिए । सैनिक हेलिकप्टरको उडान संयोजन गर्ने सेनाले यसबारे जानकारी नदिएको श्रेष्ठले बताए । अमेरिकी सेनाको ३६औं कार्गोमा आएको यो हेलिकप्टर जापानबाट ल्याइएको हो । यस्ता हेलिकप्टर तीनवटा ल्याइएका थिए । यीसहित चार लडाकु भी २२ ओस्प्रे विमान अहिले नेपालमा परिचालित छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्