काठमाडौं । डिजाइन गरी नक्साको मापदण्डबमोजिम बनेका राजधानीका अधिकांश घर विनाशकारी भूकम्पबाट सुरक्षित रहेको इन्जिनियरहरुले बताएका छन् । नेपाल इन्जिनियर्स एसोसिएसनको आह्वानमा भूकम्पले क्षति भएका घर बस्न योग्य रहे÷नरहेको यकिन गर्ने कार्यमा स्वयम्सेवी रुपमा खटिएका इन्जिनियरहरुको अवलोकनले त्यस्तो देखाएका हुन् । वैशाख १८ गतेदेखि सुरु भएको सो जाँचमा झन्डै तीन हजार इन्जिनियरले आजसम्म उपत्यकामा २८ हजारभन्दा बढी भूकम्पले क्षति भएका घरको द्रुत लेखाजोखा मूल्याङ्कन ¥यापिड भिजुयल एससमेन्ट गरिसकेका छन् । नक्साको मापदण्डमा तोकिएको जमिनको क्षेत्रफलअनुसार उचाइ भएका र स्वीकृत नक्साअनुसार मात्र तला थपिएका घरमा भूकम्पबाट खासै क्षति नभएको उपत्यकाका घरको जाँच कार्यमा सुरुदेखि नै संयोजनको भूमिका निर्वाह गरिरहनुभएका आर्किटेक्ट इन्जिनियर जनकराज जोशी बताउछन् । सम्बन्धित सरकारी निकायले अनुगमन प्रभावकारी हुननसक्दा उपत्यकामा धेरै घर मापदण्ड विपरीत निर्माण भएको र त्यस्ता घरमा भूकम्पबाट ठूलो क्षति भएकाले नीतिनियममा कडाइ हुनुपर्ने उनको सुझाव छ ।
भूकम्पले क्षति भएका मध्ये हालसम्म जाँचिएका त्यस्ता घरमध्ये ५० प्रतिशतभन्दा बढी बस्न मिल्ने पूर्ण रुपमा सुरक्षित, ३० प्रतिशत सामान्य मर्मत गरी बस्न मिल्ने र बाँकी घर बस्न नमिल्ने गरी क्षतिग्रस्त भएका छन् । ललितपुरमा हालसम्म झन्डै आठ हजार भूकम्पले क्षति पु¥याएका घर जाँचिएको र त्यसमध्ये सरकारले तोकेको मापदण्डमा नक्साबमोजिम बनेका अधिकांश घरमा सामान्य क्षति मात्र भएको स्ट्रक्चरल इन्जिनियर दीपकराज पोखरेल बताए । सो जाँच कार्यमा ललितपुर जिल्लाको संयोजनसमेत गरेका इन्जिनियर पोखरेलले भने–‘डिजाइन नगरी आफूखुसी बनाइएका र नक्सा दुई तलाको पास गरी पाँचतले बनाएका कतिपय घर नयाँ भए पनि भूकम्पले क्षति भएको देखियो ।’ घर बनाउँदा ज्योतिषको सल्लाह लिनुभन्दा इन्जिनियरलाई माटो जँचाउनुपर्ने उनको सुझाव छ ।
इन्जिनियरको टोलीले भूकम्पबाट क्षति भएका घरको रातो (बस्न नमिल्ने), पहेँलो (सामान झिक्नका लागि भित्र पस्न मिल्ने) र हरियो )बस्न मिल्ने) गरी तीन भागमा वर्गीकरण गरी अभिलेखसमेत राखे पनि घरधनीलाई भने बस्न मिल्ने र नमिल्ने बारेमा मात्र जानकारी दिँदै आएका छन् ।
भूकम्पले पुराना आयु समाप्त भइसकेका अधिकांश कच्ची घरमा धेरै क्षति भए पनि घरधनीले आफैँले बस्ने गरी नक्साबमोजिम बनाएका घरमा भने तुलनात्मक कम क्षति भएको जाँच कार्यमा भक्तपुर जिल्लामा संयोजन गरिरहेका इन्जिनियर कमल कार्कीको धारणा छ । चौडाइको तुलनामा उचाइ बढी भएका, पिल्लर तथा बिममा छड राख्ने प्रविधि नमिलेको, माटोअनुसार जगको डिजाइन नभएका र पुराना माटोको गारो भएको घरमा मनपरी रुपमा पक्की छाना थपेका अधिकांश घरमा बढी क्षति भएको इन्जिनियर कार्की बताउछन् । राजधानीका गोङ्गबु, माछापोखरी, सीतापाइला, बसुन्धरालगायतका केही स्थानमा भने घरको नक्साको मापदण्डभन्दा पनि जमिनको भूबनोटमा ध्यान नदिई बनाएका अग्ला घरमा भूकम्पले बढी क्षति भएको विज्ञहरुको भनाइ छ ।
काठमाडौँ महानगरपालिकामा हाल करिब एक लाख १० हजार मात्र नक्सा पास भएका घर छन् भने त्यसमध्ये ५० प्रतिशतभन्दा बढी घर स्वीकृत नक्साको मापदण्डविपरीत निर्माण भएको महानगरपालिकाकै अनुमान छ । विनाशकारी भूकम्पमा परी मुलुकभर १० हजार ८०३ सरकारी घर तथा भवन पूर्णरूपमा क्षति भएका छन् । आंशिक रूपमा १५ हजार ३४ घर तथा भवन आंशिक क्षति भएका छन् । त्यस्तै सर्वसाधारणका दुई लाख ९६ हजार ९०३ घर पूर्ण क्षति भएका छन् भने आंशिक दुई लाख ७७ हजार ५० घर क्षति भएको गृह मन्त्रालयले जनाएको छ । सहरी विकास तथा भवन निर्माण विभागले भूकम्पबाट क्षति भएका सरकारी भवनको मात्र जाँच गरिरहेकाले निजी क्षेत्रका घर बस्नयोग्य छन्÷छैनन् भन्ने जाँचका लागि सरकारले एसोसिएसनलाई परामर्श गरी अन्य सङ्घसंस्थाको सहयोगका साथ सो अनुमति दिएको थियो ।