नेभिगेशन
अन्य

उत्तरी गोरखा–तिब्बती नाका खुलाउने प्रयास

गोरखाबजार । उत्तरी गोरखाका भूकम्पपीडितलाई भोकमरीबाट जोगाउन तिब्बतको नाका खुलाउने प्रयास सुरु गरिएको छ । छेकम्पार र सामागाउँ गाविसस्थित दुई नाका खुलाउने प्रयास सुरु गरिएको प्रजिअ उद्धवप्रसाद तिमल्सेनाले जानकारी दिए । नाका खुलाउन जिल्लास्तरबाट सर्वपक्षीय निर्णय गरी गृह मन्त्रालय पठाइसकिएको तिमल्सेनाले बताए । बारपाक गाविस ७. ६ म्याग्निच्युडको बिनाशकारी भुकम्पको केन्द्रविन्दु हो । भूकम्पले उत्तरी गोरखाको सामागाउँ, ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार, सिर्दिवास आदि गाविसमा पर्याप्त मात्रामा खाद्यान्नलगायत राहत सामग्री वितरण गर्न सकिएको छैन । ती नाका वर्षमा एक पटक साउन महिनामा मात्रै खुल्ने गरेको छ । नाका खुलेपछि उत्तरी गोरखाका भूकम्पपीडितले तिब्बती बजारबाट खाद्यान्नलगायत सामग्री किनमेल गर्न पाउँछन् । जिल्ला दैवीप्रकोप उद्धार समितिले हेलिकोप्टरको अपर्याप्तताले गर्दा उत्तरी भेगमा राहत सामग्री ढुवानीमा समस्या भएको जनाएको छ । मोटरबाटो नभएको उत्तरी गोरखाका १८ गाविसमा राहत सामग्री पु¥याउन हेलिकोप्टरको भर पर्नुपर्छ तर पर्याप्त हेलिकोप्टर नहुँदा भूकम्पपीडित अझै पनि त्रिपालको पर्खाइमा रूखमुनि बास बसेका छन् । अहिलेसम्म हेलिकोप्टरले ढुवानी गरी उत्तरी गोरखा पु¥याएको खाद्यान्न अपर्याप्त भएको भूकम्पपीडितले जनाएका छन् । लाखौँ खर्च गरी हेलिकोप्टरबाट हजारौँको सामान ओसार्नुभन्दा खच्चर हिँड्ने बाटो मनास्लु पदमार्गमा गएको पहिरो हटाउन भूकम्पपीडितले माग गरेका छन् । नेपाली सेनाको टोलीले पदमार्ग खुलाउने तयारी गरेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्