नेभिगेशन
अन्य

अस्थायी टहरा बनाउन इन्जिनियरिङ पेसाकर्मी सङ्घको सुझाव

काठमाडौ‌ । नेपाल इन्जिनियरिङ पेसाकर्मी सङ्घले वर्षाको समय आइसकेकाले भूकम्पबाट प्रभावितलाई त्रिपाल दिनुभन्दा अस्थायी टहरा बनाउनु बढी उपयोगी हुने सुझाव सरकारलाई दिएको छ । एक महिनापछि नै वर्षाको समय सुरु हुने भएकाले घरविहीन भएकाका लागि पालमा बसाएर समय बिताउनुभन्दा पनि मनसुन धान्ने खालको अस्थायी टहरा बनाउनु उपयोगी हुने सुझाव सङ्घले दिएको हो । पाल जुटाउन र वितरण गर्न महिनौ कटाउनुभन्दा क्षति भएका घरको मर्मत गर्नुपर्ने, भूकम्पका कारण रोजगारी गुमाएकाका लागि पुनःस्थापना गर्नुपर्ने, भवन निर्माण ऐन तत्काल जारी गर्नुपर्ने, पशु गुमाएका कृषकलाई किन्नका लागि अनुदान दिनुपर्ने, स्वरोजगारको सिर्जना गरी राष्ट्रको पुनः निर्माणमा लगाउन युवालाई तालिम दिइ प्रोत्साहन गर्नुपर्ने माग पनि गरेको छ । सङ्घका अध्यक्ष इन्जिनियर माधवप्रसाद कोइरालाले पालका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा धाएर समय खेर फाल्नुभन्दा अस्थायी घर बनाएर बस्नसके वर्षाको समयमा ढुक्कले बस्न र कृषकले खेतीपाती गर्न सक्ने राससलाई बताए । सङ्घले उपत्यकाका एक हजार २०० घरको निरीक्षण गरी तत्काल बस्न मिल्ने, बस्न नमिल्ने र मर्मतपछि बस्न मिल्ने गरी तीन भागमा बाँडेर मूल्याङ्कन गरेको छ । त्यसमध्ये भक्तपुर जिल्ला प्रशासन कार्यलयको अनुरोधमा भक्तपुर नगरपालिका र आनन्दलिङ्गेश्वर नगरपालिकामा दशवटा टोलीमध्ये जिल्ला प्रशासन कार्यलयले तीन जनाको समूह बनाएको थियो । समूहले ललितपुर उपमहानगरपालिकाको १५ वडा सातदोबाटो, खुमलटार, भैरवटोल, १३ र १४ वडा का केही भाग २ वडा सानेपा, झम्सिखेल, ३ वडा धोबिघाट, चापागाँउ जस्ता क्षेत्रको अवलोकन गरेको थियो भने काठमाडाँैको कोटेश्वर, बानेश्वर, चाबहिल, डिल्लीबजार, बालुवाटार, गोङ्गबु, बालाजु, बसपार्क, बागबजार, टोखा, कलङ्की, कुलेश्वरलगायतका भाग गरी एक हजार २०० घरमा निःशुल्क सेवा दिएको सङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सङ्घको तथ्याङअनुसार काठमाडौँ उपत्यकाको १४ प्रतिशत घर बस्न नहुने, १९ प्रतिशत घर मर्मतपछि उपयोगमा ल्याउन सकिने र ६७ प्रतिशत घर सुरक्षित रहका छन् । सङ्घमा पाँच हजार इन्जिनियर आवद्ध छन् भने भूकम्पबाट क्षति भएका घरको निरीक्षण लागि ५०० इन्जिनियर परिचालन गरिएको थियो । सो समूहले काठमाडौँ उपत्यकाको एक हजार २०० घरको निरीक्षण गरेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्