नेभिगेशन
अन्य

राज्यविहिनताको अवस्था आउन दिन्न : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशील कोइरालाले नेपाललाई हाइटीजस्तो राज्यविहीनताको अवस्थामा जान नदिने प्रतिबद्धता जनाएका छन् । बालुवाटारमा आज तनहुँ–काठमाडौँ लोकतान्त्रिक बुद्धिजीवी समाजको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले सो प्रतिबद्धता जनाएका हुन् । ‘वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट आहत भएका जनतालाई सरकारविरुद्ध उचालेर नेपाललाई राज्यविहीनताको अवस्थामा पु¥याउन खोजिएको छ, मलाई केही लिनु छैन त्यसैले म पीडितलाई राहत दिने काममा दृढताका साथ लाग्दछु, गलत गर्नेलाई कारबाही र राम्रो गर्नेलाई पुरस्कृत गर्न कुनै कञ्जुस्याईं बाँकी राख्दिन’ उनले भने । सुरुका दिन सबै पीडामा भएकाले सरकारका काममा केही कमजोरी देखिए पनि पछि त्यसलाई सम्हालेर नियन्त्रणमा लिइएको प्रधानमन्त्री कोइरालाले बताएका थिए । विपत्को घडीमा अनावश्यक हल्लाभन्दा पनि सहीरुपमा पीडितको सेवामा जुट्न उनले प्रतिनिधिसँग आग्रह गरे । समाजका संयोजक यदुनाथ खनालले तनहुँमा भूकम्पले चार हजार ९२७ घर पूर्ण रुपमा क्षति भएका, १५ हजार ९१८ घरमा बस्न नहुने गरी भत्किएका, १०० वटा विद्यालय र मठमन्दिर पूर्णरुपमा क्षति भएका, १३ वटा स्वास्थ्यचौकी र तीनवटा गाविस भवन पनि पूर्णरुपमा क्षति भएकाले जिल्लालाई अति प्रभावितको सूचीमा समावेश गरिनुपर्ने माग गरे । ‘मानवीय क्षति एकै जनाको मात्र भए पनि जिल्लामा भूकम्पका कारण भयावह स्थिति छ त्यसैले अति प्रभावितको सूचीमा समावेश गरिनुपर्छ भन्ने माग राखेका छौँ’, रासससँग प्रतिक्रिया दिँदै संयोजक खनालले भने । समाजमा तनहुँबाट काठमाडौँ आई डाक्टर, इन्जिनियर, पत्रकार, शिक्षक र कर्मचारीलगायत पेसा व्यवसायमा आबद्धहरुको संलग्नता रहेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्