भक्तपुर । विनाशकारी भूकम्पका कारण ऐतिहासिक सहर भक्तपुर नगरका ११६ सम्पदामा क्षति पुगेको छ । नगरभित्र रहेका सम्पदामध्ये ६७ सम्पदा पूर्ण रुपमा क्षति भएको र ४९ सम्पदामा आंशिक क्षति पुगेको भक्तपुर नगरपालिकाका कार्यकारी अधिकृत उद्धव रिजालले जानकारी दिए । पूर्ण रुपमा क्षति भएका नगरपालिका भवन, फसि देग, रामेश्वर मन्दिर, वत्सला मन्दिर, नारायण मन्दिर, सिद्धिलक्ष्मी मन्दिर, विश्वरुपा मन्दिर, सिद्धिगणेश मन्दिर, श्वेतभैरव मन्दिर, सिज महादेव, देगइना मन्दिर र ब्रह्मायणी मन्दिर छन् । त्यस्तै हनुमानघाटस्थित १२ मन्दिर तथा शिवालय, भक्तपुरका विभिन्न देवताको घर अर्थात् द्योःछें, सत्तल, पाटी र पुजारी मठमा पूर्ण खरुपमा क्षति पुगेको छ ।
पूर्ण रुपमा क्षति पुगेको सम्पदाको पुनःनिर्माण नै गर्नुपर्ने र आंशिक क्षति भएका सम्पदाको मर्मत गर्नुपर्ने बताउँदै उनले नगरपालिकाले निकालेको प्रारम्भिक लगत अनुमानअनुसार भक्तपुरका सम्पदाको पुनःनिर्माण एवम् मर्मत गर्नका लागि रु २९ करोड ३२ लाख लाग्ने बताए । विश्वसम्पदा सूचीमा रहेको दरबार क्षेत्रका महत्वपूर्ण सम्पदामा नराम्रोसँग क्षति पुगेको जानकारी दिँदै तलेजुका नाइके नरेन्द्रप्रसाद जोशीले भत्किएका सम्पदाका पुरातात्विक सामग्रीको संरक्षण अति आवश्यक रहेको बताए । भूकम्पले तलेजु मन्दिरको मूलचोक परिसरमा पनि क्षति पु¥याएको जानकारी दिँदै उनले सम्पदा संरक्षणमा सबै निकाय छिटो लाग्नुपर्ने बताए । राष्ट्रिय कला सङ्ग्रहालयका प्रमुख अरुणा नकर्मीले भत्किएका सम्पदाका महत्वपूर्ण सामग्री, मन्दिर तथा बहुमूल्य सामानको सुरक्षा गरिसकिएको जानकारी दिए ।
–––––––