काठमाडौँ । संयुक्त राष्ट्र सङ्घले भूकम्पबाट प्रभावित दुर्गम भेगका सर्वसाधारणसमक्ष सहायता सामग्री लैजानेतर्फ रहेको जनाउँदै वर्षायाम सुरु हुनुअगावै पीडितलाई बासको व्यवस्था गर्नु अति जरुरी भएको बताएको छ । ‘बासस्थान हाम्रो सर्वाधिक प्राथमिकता हो, झन्डै दुई लाख ८५ हजार घर ध्वस्त भएका छन् भने दुई लाख ३० हजार घरमा क्षति भएको छ,’ ललितपुरस्थित राष्ट्रसङ्घीय कार्यालयमा आज पत्रकारसम्मेलन गरेर नेपालका लागि उक्त संस्थाका मानवीय समन्वयकर्ता जेमी म्याकगोल्डरिकले भने । उनले नेपाल सरकार र साझेदारहरूका साथै राष्ट्रिय, जिल्ला र सामुदायिक तहसम्म समन्वयमा राहतका काम भइरहेका जानकारी दिँदै सरकारी प्रयासमा सघाउन आफूहरू प्रतिबद्ध रहेको बताए । पाँँचवटा अतिरिक्त केन्द्र स्थापना गरेर राष्ट्रसङ्घीय टोलीले सहायता सामग्री पु¥याइरहेको उनले बताए । ‘दशौँ हजार पाल, दुई लाख ७० हजार पीडितलाई खाद्य र तीन लाख जनालाई स्वच्छ पेय जल वितरण गरिसकिएको छ,’– आजसम्म वितरित राहत सामग्रीको विववरण प्रस्तुत गर्दै उनले भने ।
प्रमुख जिल्ला अधिकारी र स्थानीय प्रशासनलाई समुदायका आवश्यकतासम्बन्धी जानकारी भएकाले उनीहरूसँगको समन्वयमा सहायता सामग्री वितरण भइरहेको जानकारी पनि उनले दिए । मानवीय समन्वयकर्ता गोल्डरिकले भूकम्पपीडितलाई सहयोगार्थ हालसम्म दुई करोड २४ लाख अमेरिकी डलर मात्र प्राप्त भएको बताए ।
संयुक्त राष्ट्र सङ्घले यही वैशाख १६ गते नेपालका भूकम्प प्रभावितको सहायतार्थ तत्काल रु ४१ अर्ब ५० करोड आवश्यक भएको जनाउँदै राष्ट्र सङ्घमा आबद्ध सबै सदस्य मुलुकलाई रकम उपलब्ध गराउन काठमाडौँ, जेनेभा र न्युयोर्कबाट एकैपटक त्यस्तो अपिल गरेको थियो ।
बासस्थान, पिउने पानी तथा सरसफाइ, आकस्मिक स्वास्थ्य सेवा, खाद्य पदार्थ र सुरक्षाजस्ता अत्यावश्यक आवश्यकता परिपूर्ति गर्ने नेपाल सरकारको प्रयासमा भरथेग गर्न पहिलो तीन महिनाका लागि त्यति रकम चाहिने उक्त विश्व संस्थाले बताएको छ ।