काठमाडौं । महाभूकम्पपछि उपत्यकाका आवासीय अपार्टमेन्टको अवस्था जाँच्न खटिएको सरकारी टोलीले काठमाडौं उपत्यकामा रहेका अपार्टमेन्टमा तत्काल बस्न नहुने प्रारम्भिक अनुमान गरेको छ। सहरी विकास तथा भवन निर्माण विभागले महाभूकम्पपछि उपत्यकामा रहेका अपार्टमेन्टको अवस्था के छ, भित्र पस्न मिल्छ कि मिल्दैन, बसोबास गर्न मिल्छ कि मिल्दैन र कति क्षति पुगेको छ निर्क्योल गर्न पहिलो चरणको निरीक्षण गरेर केही अपार्टमेन्टमा तत्काल बस्न नहुने प्रारम्भिक अनुमान गरेको हो। क्षति पुगेका अपार्टमेन्टमा पुनः बसोबास गर्नुअघि व्यापक मर्मत गर्नुपर्ने विभागले जनाएको छ। यस्ता अपार्टमेन्ट निरीक्षण गर्न विभागले ६ सदस्यीय इन्जिनियर टोली खटाएको छ। विभागको काठमाडौं जिल्ला डिभिजन कार्यालयका प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर सागरकृष्ण जोशीको नेतृत्वमा खटेको टोलीले राजधानीको धापासीस्थित पार्क भ्यु होराइजन अपार्टमेन्टमा तत्कालका लागि भित्र जानै नहुने निष्कर्ष निकालेको छ।
वैशाख १२ मा गएको ७.६ म्याग्निच्युडको महाभूकम्पपछि उपत्यकामा रहेका अधिकांश अपार्टमेन्टमा क्षति पुगेको छ। भवन निर्माण विभागले सरकारी भवनहरूको मात्र निरीक्षण गर्ने भए पनि ‘संयुक्त आवास ऐनु का कारण यस्ता अपार्टमेन्ट पनि निरीक्षण गरिरहेको हो।इन्जिनियर टोलीले एक सातायता १५ वटा अपार्टमेन्ट निरीक्षण गरेको छ। तर, कुनै पनि अपार्टमेन्टभित्र टोली पसेको छैन।
टोलीले पार्क भ्युलाई रातो स्टिकर खतरा दिएको छ। ‘यसका भित्ता हटाएर मात्र भित्र पस्न मिल्छ,’ जोशीले भने, ‘त्यसपछि यसमा बस्न मिल्छ वा मिल्दैन भन्ने विस्तृत अध्ययन गर्छौं। त्यतिन्जेलसम्म पार्क भ्युभित्र बस्न मात्र होइन छिर्न पनि मिल्दैन।’
उनका अनुसार पहिलो चरणमा बसोबास भइरहेका अपार्टमेन्ट निरीक्षण गरिएका छन्। हाल यस्ता अपार्टमेन्ट काठमाडौं उपत्यकामा २५ वटा छन्। तीमध्ये मंगलबारसम्म १५ वटाको प्रारम्भिक निरीक्षण भएको हो। हालसम्म उपत्यकामा ७० अपार्टमेन्टले निर्माण स्वीकृति पाएका छन्। त्यसमध्ये संयुक्त आवास ऐन बन्नुअघि निर्माण भएका ७ र त्यसपछिका १८ गरी २५ वटा पूर्ण सञ्चालनमा छन्।
केही अपार्टमेन्ट निर्माणाधीन छन् भने केहीले निर्माण सुरु नै नगरेको विभागले जनाएको छ। ‘दस तलेभन्दा अग्ला अपार्टमेन्ट नचर्किए पनि निरीक्षण गर्नुपर्छ,’ जोशीले भने, ‘त्यस्ता अपार्टमेन्ट पनि खतरापूर्ण हुनसक्छन्।’ पहिलो चरणमा गरिएको निरीक्षणपछि अधिकांश अपार्टमेन्ट पुनर्निर्माण गर्नुपर्ने अवस्थामा रहेको उनको भनाइ छ। ललितपुर हात्तीवनस्थित सिटीस्केच अपार्टमेन्ट र काठमाडौं धुम्बाराहीस्थित ग्रान्ड अपार्टमेन्ट पुनः सञ्चालनमा ल्याउनुअघि व्यापक मर्मत गर्नुपर्ने उनले बताए।