काठमाडौं । शाक्यमुनि भगवान् बुद्धको जयन्ती देशभर मनाइँदै छ । प्रत्येक वर्षको वैशाख शुक्लपूणिर्माका दिन बुद्ध जयन्ती मनाउने यस वर्षको बुद्ध जयन्ती भूकम्पका कारण जीवन गुमाउनेका लागि निर्वाण (मोक्ष प्राप्ति) र घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दै मनाइने भएको छ । बुद्ध जयन्तीलाई भव्यताका साथ मनाउने डेढ महिनाअघिदेखि तयारी गरिएको भएपनि देशमा भूकम्पका कारण परेको विपत्तिका कारण यस वर्ष बुद्ध जयन्तीको कार्यक्रम परिमार्जन गरिएको हो । राष्ट्रिय बुद्ध जयन्ती मूल समारोह समितिले यस वर्षको बुद्ध जयन्ती भूकम्पका कारण जीवन गुमाउनेका लागि निर्वाण (मोक्ष प्राप्ति) र घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दै मनाउने जनाएको छ ।
समितिका संयोजक एवम् लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा. डा. नरेशमान बज्राचार्यका अनुसार सम्पूर्ण बौद्ध सङ्घसंस्थालाई पीडितको उद्धार तथा राहतमा सहयोग पु¥याउन आग्रह गरिएको छ । पछिल्ला वर्षमा स्वदेशमा मात्र नभएर विदेशमा पनि बुद्ध जयन्ती भव्यताकासाथ मनाउने प्रचलन बढ्दै गएको छ ।
सिद्धार्थ गौतमको जन्म ईसापूर्व ५६३ तिर नेपालको लुम्बिनीमा भएको थियो । वैशाख शुक्ल पूणिर्माको दिन जन्मेका बुद्धले ३५ वर्षको उमेरमा बुद्धत्व प्राप्त गरेका थिए । निरन्तर ४५ वर्षसम्म बुद्ध धर्मको प्रचार गरेपछि ८० वर्षको उमेरमा वैशाख पूणिर्माकै दिन भारतको कुशीनगरमा बुद्धको महापरिनिर्वाण भएको थियो । विश्वभर शान्ति, मैत्री, करुणा र अहिंसामा आधारित बुद्ध धर्मलाई शान्तिको धर्मका रुपमा लिँदै आइएको छ ।