नेभिगेशन
अन्य

राष्ट्रिय विपत्तीमा मन ,वचन र कर्मले सहयोग गर्न प्रधानमन्त्रीको अनुरोध

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले विश्वभरका बुद्ध धर्मावलम्बीहरुलाई बुद्धका वाणी र व्यवहारलाई स्मरण गरी भूकम्पपीडितहरूलाई मन ,वचन र कर्मले सहयोग गर्न अनुरोध गरेका छन् । पच्चीस सय ५९ औँ बुद्ध जयन्तीका अवसरमा आज शुभकामना सन्देश दिदै उनले शान्तिका अग्रदूत भगवान् गौतम बुद्धले अहिंसा, सत्यवादिता, अपरिग्रह, पारस्पारिक सहयोग र परोपकारका लागि दिनुभएको सन्देश शाश्वत छन् भन्दै प्राकृतिक प्रकोप, हिंसा र द्वन्द्वको असैह्य पीडा भोगेको नेपाली समाजका लागि बुद्धले देखाएको शान्तिको मार्गको विकल्प नभएको बताए । प्रधानमन्त्री कोइरालाले सन्देशमा आपसी सद्भाव, सहकार्य, एकता र मेलमिलाप नै प्राकृतिक प्रकोपबाट जोगाउने शक्ति भएका र त्यस्ता प्रकोपको पीडाबाट बाहिर निस्केर विकासलाई गति दिएपछि मात्र आम नागरिकलाई सुख र समृद्धि प्राप्त हुन सक्ने उल्लेख गरे । सन्देशमा उनले जनताको सुख र समृद्धिका लागि कार्यरत सम्पूर्ण राजनीतिक दलका नेता र कार्यकर्तासहित समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई राहत कार्यमा जुट्दै भगवान् गौतम बुद्धले देखाउनु भएको शान्ति र सद्भावको मार्ग अवलम्बन आग्रह गरेका छन् । कठोर साधनाद्वारा भगवान गौतम बुद्धले प्राप्त गरेका ज्ञान आज पनि उत्तिकै सान्दर्भिक रहेका र तिनले विश्व मानव समुदायलाई शान्तिको मार्गबाट उन्नतिको बाटो पहिल्याउन प्रेरित गरिरहेको भन्दै प्रधानमन्त्री कोइरालाले नेपालका राष्ट्रिय विभूति एवम् एसियाका तारा गौतम बुद्धको जीवन र ज्ञानका समग्र पक्षको अध्ययन अनुसन्धान गर्दै तिनको प्रचार प्रसार गरेर नेपालको गौरव अझ अभिवृद्धि गराउन सकिने विश्वास व्यक्त गरे । यही वैशाख १२ गतेको अकल्पनीय भूकम्पबाट भएको ठूलो जनधनको क्षतिले समस्त नेपाली मर्माहत भएको समयमा हामी २५५९ औं बुद्ध जयन्ती मनाउन लागिरहेका स्मरण गराउँदै विपत्को यस घडीमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरे । पच्चीस सय ५९ औँ बुद्ध जयन्तीले आफ्नो धर्म, संस्कृति र परम्पराप्रति आस्था राख्ने सबैलाई शान्ति र अहिंसालाई पालना गर्दै सत्कर्ममा लाग्न सबैलाई प्रेरणा दिन सकोस ,भगवान् गौतम बुद्धको शान्ति र अहिंसाको मार्ग अवलम्वन गर्दै स्वदेशमा मात्र हैन विश्वमा शान्ति फैलाउने कार्यमा नेतृत्व लिन नेपालीलाई प्रेरणा प्राप्त हुन सकोस् भन्ने कामना प्रधानमन्त्रीले गरेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्