नेभिगेशन
अन्य

प्रधानमन्त्री कोइराला र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार तथा परराष्ट्र सचिव भेट

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालासंग भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभल र विदेश सचिव एस जयशंकर सहितको उच्चस्तरीय प्रतिनिधि मण्डलले आज प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेको छ । भेटमा सल्लाहकार दोभलले नेपालमा हालै आएको अप्रत्यासित भूकम्पबाट भएको जनधनको क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय सरकार र भारतीय जनताको तर्फबाट भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री कोइराला र उहाँमार्फत भूकम्पबाट पीडित र यस घट्नाबाट दुःखित नेपाली जनतालाई पठाउनु भएको समवेदना प्रकट गरेका थिए । भेटका अवसरमा प्रधानमन्त्री कोइरालाले नेपालमा आएको यस अकल्पनीय प्राकृतिक प्रकोपबाट पीडितहरुको उद्धार,राहतमा भारतीय प्रधानमन्त्री र भारत सरकारले देखाएको तत्परताको सराहना गरे । उनले ८० बर्षको अन्तरालमा आएको यति ठूलो विपत्तिको सामना गर्नका लागि भारतले हासिल गरेको ज्ञान,सीप र अनुभव हाम्रा लागि निकै सहयोगी सिद्ध भएको बताए । प्रधानमन्त्री कोइरालाले भूकम्प गएपछिको पाँचौ दिनसम्म पनि पीडितहरुको जीवितै उद्धार गरिएको घट्ना स्मरण गर्दै भारतका उद्धारकर्मीहरु राजधानी उपत्यका र उपत्यका बाहिर पुगेर गरेको उद्धार कार्यको प्रशंसा गरे । प्रधानमन्त्री कोइरालाले आफू पनि उद्धार, उपचार र राहत लिने प्रक्रियाको जानकारी लिन स्थलगत अवलोकन भ्रमणमा जाँदा भारतीय उद्धारक र स्वास्थोपचार टोलीले गरेको कामबाट प्रभावित भएको बताएका थिए । उनले भारत जत्तिको सहयोगी र असल मित्र छिमेकमा रहेकोले आपतका समयमा नेपाललाई जहिले पनि सजिलो भएको बताए । वार्ताका क्रममा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार दोभलले भूकम्पको केन्द्रविन्दु नेपालमा परेको जानकारी पाउने वित्तिकै केही बर्ष पहिले गुजरातको भुजमा आएको भूकम्पको विनास देखेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हुने विनासको आँकलन गर्दै उद्धार र राहतका लागि अग्रसरता लिन तत्परता देखाएको जानकारी प्रधानमन्त्री कोइरालालाई गराएका थिए । सो अवसरमा भारतीय सुरक्षा सल्लाहकारले यस दुःखको समयमा नेपाललाई के कुराको आवश्यकता छ, आफूहरु त्यसमा सक्दो सहयोग गर्न तत्पर रहेको बताएका थिए । भेटमा भारतीय राजदूत रन जित रे, प्रधानमन्त्री कोइरालाका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराई, कामु परराष्ट्र सचिव शंकरदास वैरागी,भारतको विदेश मन्त्रालय र नेपालका परराष्ट्र मन्त्रालयका उच्च अधिकृतहरुको उपस्थिति रहेको थियो । प्रधानमन्त्री कोइरालाले भारतीय प्रधानमन्त्री,भारत सरकार र भारतीय जनताले नेपालमा परेको यस दुःखमा गरेको सहयोग र दिएको समवेदनाप्रति आफू,नेपाल सरकार र नेपाली जनताकोतर्फबाट आभार प्रकट गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्