काठमाडौं । एसियाली–अफ्रिकी रणनीतिक साझेदारी (नास्प) को दशौं वार्षिकोेत्सवमा सहभागि हुने क्रममा इण्डोनेशियामा रहेका प्रधानमन्त्री सुशील कोइरालाले सम्मेलनमा सहभागि अन्य राष्ट्राध्यक्ष, सरकार प्रमुख एवम् सरकारको प्रतिनिधिलाई भेटघाट गर्नेक्रम आज पनि जारी छ । यस क्रममा प्रधानमन्त्री कोइरालाले जापानका प्रधानमन्त्री सिन्जो आबेसित बुधबार जाकर्तास्थित जाकर्ता सम्मेलन गृहमा भेटघाट गरेका थिए । सो अवसरमा उनीहरुका बीचमा नेपाल–जापान सम्बन्धका विविध विषयमा कुराकानी भएको प्रधानमन्त्री कोइरालाका परराष्ट्र मामिला सल्लाहकार डा दिनेश भट्टराईले जानकारी दिए । प्रधानमन्त्री कोइरालाले नेपालको आर्थिक, सामाजिक तथा पूर्वाधार विकासमा जापान सरकारले प्रदान गर्दै आएको सहयोगप्रति जापान सरकार र प्रधानमन्त्री आबेलाई धन्यवाद दिएका थिए । सो अवसरमा जापानका प्रधानमन्त्री आबेले जापान नेपालको आर्थिक समृद्धि छिटो होस् भन्ने चाहना राख्दछ राखेका थिए । सो भेटमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, परराष्ट्र मन्त्रालयका कामु सचिव शङ्करदास बैरागी र सल्लाहकार डा भट्टराई सहभागी थिए ।
आज प्रधानमन्त्री कोइरालाले सम्मेलन आयोजक देश इन्डोनसियाका राष्ट्रपति जोको विडोडो, बङ्गालादेशका प्रधानमन्त्री शेख हसिना आजेद, मान्माका राष्ट्रपति, भारतका विदेशमन्त्री सुष्मा स्वराजलगायत विशिष्ट पाहुनासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
यसैबीच नास्पको सम्मेलनअन्तर्गत आज पनि सहभागी देशले आफ्नो मन्त्यव्य राख्ने क्रम जारी रहने छ । विश्व शान्ति तथा समृद्धि प्रवद्र्धन गर्न दक्षिण–दक्षिण सहयोग सबलीकरण भन्ने नाराका साथ सुरु भएको नास्पको सो सम्मेलनमा एसिया तथा अफ्रिकाका महादेशका १०९ देश, १६ पर्यवेक्षक मुलुकका प्रतिनिधि तथा २५ अन्तर्रा्ष्ट्रिय सङ्गठनका प्रतिनिधिको सहभागिता रहेको छ । एसियाली–अफ्रिकी सम्मेलनको ६०औँ वार्षिकोत्सव समारोह भने इन्डोनेसियाको वाङ्डुङ सहरमा भोलि हुँदैछ ।