काठमाडौं । लामो समयपछि आज संविधानसभाको बैठक बस्दैछ । विगतमा शोक प्रस्ताव पारित गर्दै सरिरहेको संविधानसभामा आजका लागि पनि बिजनेश भने पाएको छैन । दलहरुका बीचमा ठोस सहमति नभएकाले ठूलो दल नेपाली कांग्रेसका सभापति एवं् प्रधानमन्त्री सुशील कोइराला विदेश भ्रमणमा रहेको अवस्थामा उनको अनुपस्थिती संविधानसभाको अर्को बैठक राख्नु त्यति उपयुक्त नहुने ठहर गर्दै सभाध्यक्ष सुवास नेम्वाङ्गले कोइराला स्वदेश फर्केपछि मात्रै बैठक राख्ने तयारी गरिरहेका छन् । त्यस अवस्थामा प्रधानमन्त्री बैशाख १५ गते फर्कने भएकोले भोलीको बैठकमा सभाध्यक्षले अर्को बैठक १६ गतेपछिका लागि मात्रै तय गर्ने स्रोतले बतायो ।
यस अघि बैशाख ७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलको बैठकले गत माघ ५ गते दलहरुबीच भएको सहमति अनुसार संघियता बाहेक अरु विषयमा सहमतिको गृहकार्य गरी प्रक्रियामा अघि बढ्ने सहमति भएको नेताहरुले बताएका थिए ।
तर प्रधानमन्त्री इण्डोनेशिया भ्रमणमा निस्केपछि दलहरुवीच कुनै गृहकार्य भएन । जसले गर्दा संविधानसभाको विहीबार बस्ने बैठक एजेण्डाविहीन बन्ने स्थिति देखापरेको हो । संविधानका विवादित विषयमा सहमति जुटाउन बसेको बुधबार बसेको तीन दलका दोस्रो तहका नेताहरुको बैठक बुधबार विना निश्कर्ष टुंगीएको छ । बैठकमा कांग्रेसका नेता तथा मन्त्रीद्धय महेश आचार्य र नरहरि आचार्य, मुख्य सचेतक चिनकाजी श्रेष्ठ, एमाले उपाध्यक्ष भीमबहादुर रावल, महासचिव इश्वर पोख्ररेल र प्रमुख सचेतक अग्नि खरेल र एमाओवादीका महासचिव कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी र बर्षमान पुन सहभागी भएका थिए ।