नेभिगेशन
अन्य

‘झापा विद्रोहदेखि गणतन्त्रका विगुल फुकिएको थियो’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा विद्रोहकालदेखि नै नेपालका कम्युनिस्ट शक्तिले गणतन्त्रको विगुल फुकेको बताएका छन् । तत्कालीन पञ्चायत शासनको विरोध र सामाजिक न्यायका लागि तीसको दशकमा झापा विद्रोह भएको थियो । नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ६७ औं स्थापना दिवसका अवसरमा आज एमाले केन्द्रीय कमिटीले यहाँ आयोजना गरेको प्रवचन कार्यक्रममा बोल्दै उनले भने ‘अब कुनै पनि शक्तिले कम्युनिस्ट आन्दोलन र शक्तिलाई दिग्भ्रमित पार्न सक्दैन’ । एमालेले नेपालमा प्रारम्भदेखि नै राष्ट्रियता, गणतन्त्र र सामाजिक न्यायको वकालत गर्दै आएको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष ओलीले मानव जातिलाई समानताको सपना देखाउने शक्ति नै कम्युनिस्ट रहेको बताए । कार्यक्रममा नेता माधवकुमार नेपालले बुर्जुवा वर्गका धेरै पार्टी भएजस्तै सर्वहारा वर्गका पनि विभिन्न कम्युनिस्ट पार्टी हुनु अन्यथा नभएकाले जनताका बीचमा राम्रो काम गरी स्थापित हुनुपर्नेमा जोड दिए । उनले अन्य पार्टीहरु जनताको बीचबाट विस्तारै अलोकप्रिय बन्दै गएको सन्दर्भमा एमालेका लागि मैदान खाली भएको बताए । उपाध्यक्ष विद्यादेवी भण्डारीले विदेशी मुलुकका उतारचढावको अनुभवसहितका आधारमा नेपालका कम्युनिस्ट पार्टीले जनताको शान्तिपूर्ण तथा लोकतान्त्रिक चाहना र आवश्यकतालाई बुझेर अघि बढ्न नसकेमा कम्युनिष्ट पार्टी धरासायी हुने बताइन् । महासचिव ईश्वर पोखरेलले अहिलेका सन्दर्भमा जबजका आधारमा कम्युनिष्ट पार्टीबीचको एकता र सहकार्यका लागि एमाले अग्रसर हुन तयार रहेको बताए । पार्टीका सचिव गोकर्णराज विष्ट, केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले पनि कम्युनिस्ट पार्टीको मूल प्रवाहका रुपमा एमाले नै भएको बताए । यसैबीच कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानका आयोजित कार्यक्रममा कम्युनिस्ष्ट पार्टी स्थापनाकाल विसं २००६ देखि गत नवौं महाधिवेशनका ऐतिहासिक झलक प्रस्तुत हुने तस्विर प्रदर्शनी गरिएको थियो । एमालले विभिन्न महाधिवेशनबाट चयन गरिएका आफ्ना पार्टी प्रमुख अध्यक्ष तथा महासचिवका तिथि मिति खुलाएर उनीहरुको तस्विरलाई पनि महत्वका साथ प्रस्तुत गरेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्