नेभिगेशन
अन्य

प्रधानमन्त्री कोइराला बैंककबाट जाकर्तातर्फ प्रस्थान

काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला इन्डोनेसियाको जाकर्ता र वाङ्डुङ सहरमा आयोजना हुने एसियाली–अफ्रिकी सम्मेलनको ६०औँ तथा नयाँ एसियाली–अफ्रिकी रणनीतिक साझेदारी (नास्प)को दशौं वार्षिकोेत्सवमा भाग लिने क्रममा आज बिहान थाइल्यान्डको बैंककबाट जाकर्तातर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री कोइराला सोमवार दिउसो त्यसतर्फ प्रस्थान गरेका थिए । उनले बैंककमा स्वास्थ्य जाँच समेत गरेका छन् । ‘विश्व शान्ति तथा समृद्धि प्रवद्र्धन गर्न दक्षिण–दक्षिण सहयोग सबलीकरण’ भन्ने नाराका साथ नास्पको दुईदिने अन्तराष्ट्रिय शिखर सम्मेलन जाकर्तामा भोलिबाट सुरु हुँदैछ भने एसियाली–अफ्रिकी सम्मेलनको ६०औँ वार्षिकोत्सव वाङ्डुङ सहरमा वैशाख ११ गते आयोजना हुने छ । पहिलो सम्मेलन सन् १९५५ मा इन्डोनेसियाको वाङ्डुङ सहरमा भएको थियो भने सन् २००५ को अप्रिल २२–२४ मा आयोजना भएको एसिया अफ्रिकी सम्मेलनको ५०औँ स्मृतिसभाले नास्प सिर्जना गरेको थियो । पहिलो एसियाली–अफ्रिकी सम्मेलनदेखि नै नेपालले सक्रिय रुपमा भाग लिँदै आएको छ । यसै सम्मेलनले जन्म दिएको पञ्चशीलको सिद्धान्तले विश्वमा शीतयुद्धको अन्त्य भई शान्ति, समृद्धि, सहअस्तित्व र असंलग्नमा नयाँ उचाइ थप गरेका कारण वाङ्डुङ सम्मेलनलाई ऐतिहासिक सम्मेलनका रुपमा लिइन्छ । प्रधानमन्त्री कोइरालाका साथमा परराष्ट्र सल्लाहकार दिनेश भट्टराई, प्रधानमन्त्री कोइरालाका जनसम्पर्क सल्लाहकार मृदुला कोइराला, निजी चिकित्सक प्राडा कविरनाथ योगी, शिष्टाचार महापाल अर्जुनकान्त मैनाली, प्रधानमन्त्री कोइरालाका स्वकीय सचिव अतुल कोइराला तथा परराष्ट्र मन्त्रालयका अधिकृत सहभागि छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्