काठमाडौंं । राष्ट्रपति डा रामवरण यादवले गत वर्षको गणतन्त्र दिवसका अवसरमा घोषित विभूषणमध्ये मानपदवीबाट विभूषित हुने राष्ट्रिय जीवनका विशिष्ट व्यक्तित्व, राष्ट्रसेवक र सामाजिक क्षेत्रका व्यक्तिलाई आज सुशोभन गरेका छन् । राष्ट्रपति भवन, शीतल निवासमा आयोजित समारोहमा ‘नेपालरत्न’ पदवी पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला (मरणोपरान्त) लाई प्रदान गरियो । कोइरालाका छोरी पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले सो पदवी ग्रहण गरेकी थिइन् । शान्ति प्रक्रियाको थालनी र लोकतान्त्रिक गणतन्त्र स्थापनामा कोइरालाले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । ‘महाउज्ज्वल’ (प्रथम) अन्तरिम मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, पूर्व उपप्रधानमन्त्री शैलजा आचार्य (मरणोपरान्त) र पूर्वमन्त्री भीमबहादुर तामाङ (मरणोपरान्त) लाई प्रदान गरेका उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीयबाट पूर्वमन्त्रीहरू माधवप्रसाद घिमिरे, साहित्यकार तथा पूर्वमन्त्री मोदनाथ प्रश्रित, पूर्व मन्त्रीहरू ऋद्धिबाबा प्रधान, विद्याधर मल्लिक, माधवप्रसाद पौडेल, शङ्करप्रसाद कोइराला, छविराज पन्त, टेकबहादुर थापा घर्ती, रामकुमार श्रेष्ठ, उमाकान्त झालाई सुशोभन गरियो ।
यस्तै सर्वोच्च अदालतका न्यायाधीश कल्याण श्रेष्ठ, प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, व्यवस्थापिका–संसद् सचिवालयका महासचिव, मनोहरप्रसाद भट्टराई, उच्चस्तरीय प्रशासन सुधार तथा कार्यान्वयन आयोगका अध्यक्ष काशीराज दाहाल, निर्वाचन आयुक्तहरू दोलखबहादुर गुरुङ, डा अयोधीप्रसाद यादव, ईला शर्मा, पूर्व आयुक्त डा रामभक्त पिबी ठाकुरलाई सोही पदवीबाट सुशोधन गरियो ।
यसैगरी, ‘सुप्रबल जन सेवाश्री’, ‘प्रबल जन सेवाश्री’ ९प्रथमदेखि पाँचौँसम्म का विभिन्न तहबाट पनि विभूषित गरियो । यसरी विभूषित हुनेमा अधिकांश विभिन्न पूर्व सचिव तथा सरकारी निकायका कर्मचारी हुन् । सामाजिक क्षेत्रबाट समाजसेवी डा पुष्पा बस्नेत, प्राध्यापक धर्मेन्द्रकुमार कर्ण, प्राध्यापक इन्द्रप्रसाद तिवारी, साउदी अरेबियाका लागि नेपाली राजदूत उदयराज पाण्डे, नेपाल टेलिभिजनका अध्यक्ष नीर शाह, सङ्गीतकार शम्भूजीत बाँस्कोटा, प्राज्ञ रामकृष्ण दुवाल, गीतकार श्याम तमोट, गायिकाहरू हरिदेवी कोइराला, कोमल वली, टीका पुन, साहित्यकार शान्ति चौधरी, श्वामी कृष्णदासजी महाराज, खेलाडी भरतबहादुर विसुराल, पत्रकार आरती चटौत, प्रताप विष्टलगायत हुन् । ती मान पदवी गत २०७१ जेठ १५ गते घोषित गरिएका थिए । समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, संविधानसभाका अध्यक्ष, उपप्रधानमन्त्री, संवैधानिक निकायका प्रमुखको उपस्थिति थियो ।
आज करिब ३०० को सङ्ख्या ९अनुपस्थिति मिलान गर्न बाँकी० मा विभूषण गरियो । विभूषणसम्बन्धी व्यवस्थापन र सिफारीसको कार्य गृह मन्त्रालयले गर्दै आएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ७, २०७२