काठमाडौं । गत चैत मसान्तसम्म ३२ लाख २० हजार ८९४ जनाले मेसिन रिडेवल पासपोर्ट (एमआरपी) लिएका छन् । विसं २०६७ पुस ११ गतेबाट सरकारले एमआरपी दिन सुरु गरेको थियो । २०७१ चैत मसान्तसम्म आइपुग्दा ३२ लाख २० हजार ८९४ जनाले एमआरपी लिएको राहदानी विभागका महानिर्देशक लोकबहादुर थापाले जानकारी दिए । जसमध्ये केन्द्रीय विभाग नारायणहिटीबाट १२ लाख ४३ हजार ३५, जिल्लाहरुबाट १६ लाख एक हजार ४६ र विदेशी कुटनीतिज्ञबाट ११ लाख २१ हजार ७७ जनाले एमआरपी लिएको थापाले बताए । एमआरपी लिन सुरु भएको समयमा भीड हुने गरेको विभागमा अहिले सेवाको प्रभावकारीतासँगै भीड कम भएको छ । विभागका महानिर्देशक थापा भने पहिला पासपोर्ट भर्ने र लिने समय निश्चित दिन तोकिएकाले भीड भए पनि अहिले जुनसुकै बेला राहदानी दिने व्यवस्था मिलाएकाले भीडमा कमी आएको बताउछन् । थापाले भने–‘कसैको छुटेको वा बाहिरबाट आएको पासपोर्टलाई सेवाग्राहीलाई वितरण गर्न पहिले निश्चित दिन तोकिए पनि अहिले जुनबेला पनि दिने व्यवस्था मिलाइएकाले कमी आएको हो ।’ उनले सरकारले १२ घन्टे सेवा दिएसँगै एमआरपी लिनेको भीडमा कम हुने गरेको बताए । उनले भने–‘पहिले जिल्ला गाउँमा ढिला हुने गरेकाले केन्द्रबाट दैनिक चार हजारसम्म राहदानी दिने गरेका थियौँ अहिले जिल्ला र कुटनीतिक विभागबाट प्रभावकारी सेवा सुविधा दिएकाले दैनिक एक हजार ५ सय जनालाई राहदानी दिने गरेकाले भीडमा कम आएको हो ।’ पहिले फर्म र तस्बिर नमिलेको व्यक्तिले एक हप्तापछि मात्र आफ्नो फर्म र तस्बिर नमिलेको थाहा पाउने गरे तापनि अहिले नमिलेका फर्मलाई तत्काल एसएमएस गरेरसमेत सेवाग्राहीलाई थाहा दिँदा सजिलो भएको उनको भनाई छ । विभागले पहिले निश्चित समयसम्म फर्म बुझाउने समय तोके पनि अहिले जुनसुकै समयमा फर्म बुझाउने व्यवस्था मिलाएकाले भीड कम भएको विभागले जनाएको छ ।