नेभिगेशन
अन्य

प्रधानमन्त्री कोइराला आजदेखि इन्डोनेशिया भ्रमणमा

काठमाडौँ । प्रधानमन्त्री सुशील कोइराला इन्डोनेसिया भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । दिउसो १२ वजे प्रधानमन्त्री कोइराला त्यसतर्फ जान लागेका छन् । इन्डोनेशियाको जाकर्ता र बाङ्डुङ सहरमा आयोजना हुने एसियाली–अफ्रिकी सम्मेलनको ६० औँ तथा नयाँ एसियाली–अफ्रिकी रणनीतिक साझेदारी (नास्प) को १०औँ वार्षिकोेत्सवमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री कोइराला त्यसतर्फ जना लागेका हुन् । ‘विश्व शान्ति तथा समृद्धि प्रवद्र्धन गर्न दक्षिण–दक्षिण सहयोग सबलीकरण’ भन्ने नाराका साथ नास्पको सम्मेलन जाकर्तामा वैशाख ९ र १० गते आयोजना हुँदैछ भने एसियाली–अफ्रिकी सम्मेलनको ६० औँ वार्षिकोेत्सव बाङ्डुङ सहरमा वैशाख ११ गते आयोजना हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालले सन् १९५५ मा सम्पन्न पहिलो एसियाली–अफ्रिकी सम्मेलनदेखि नै भाग लिँदै आएको छ । समारोहमा एसिया तथा अफ्रिकाका महादेशका १ सय ९ देश, १६ पर्यवेक्षक मुलुकका प्रतिनिधि तथा २५ अन्तर्रा्ष्ट्रिय सङ्गठनका प्रतिनिधिको सहभागिता रहने छ । एसियाली तथा अफ्रिकी मुलुकबीच साझेदारीलाई अझ बलियो बनाउने तथा दुवै क्षेत्रको आर्थिक विकास विस्तार गर्न अनुभव आदानप्रदान गर्ने लक्ष्य ती दुवै सम्मेलनले राखेका छन् । दक्षिण–दक्षिण सहयोग सबलीकरण गरी सामूहिक चुनौती समाधान गर्न छलफलको अवसरका रुपमा सम्मेलनलाई लिइएको छ । यसपछि मन्त्रिस्तरीय बैठक वैशाख ७ गते जाकर्ता सहरमा आयोजना हुनेछ । वरिष्ठ अधिकारी तहमा छलफल भई अनुमोदन भएका विषयवस्तुलाई मन्त्रिस्तरीय बैठकमा प्रस्तुत हुने कार्यक्रम रहेको छ । यस बैठकमा नेपालका तर्फबाट मन्त्री पाण्डेले भाग लिने परराष्ट्र मन्त्रालयले जनाएको छ । वैशाख ९ र १० गते राष्ट्र तथा सरकार प्रमुखको सम्मेलन आयोजना हुने कार्यक्रम तय भएकोे छ । पहिला दिन सम्मेलनको शुभारम्भ सम्बोधन इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले गर्ने कार्यक्रम रहेको छ । सोही दिन प्रधानमन्त्री कोइरालाले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्रमन्त्रालयले जनाएको छ । साथै सम्मेलनमा सहभागी अन्य राष्ट्र तथा सरकार प्रमुखले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । सोही दिन प्रधानमन्त्री कोइरालाले सम्मेलनमा सहभागी हुन आएका राष्ट्र तथा सरकार प्रमुखलाई भेटघाट गर्ने कार्यक्रम तय भएको छ । यसैगरी प्रधानमन्त्री कोइराला इन्डोनेसियाका राष्ट्रपतिले दिएको रात्रिभोजमा सरिक हुने बताइएको छ । यसैगरी प्रधानमन्त्री कोइरालाले वैशाख १० गते सम्पन्न हुने सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही दिन पनि प्रधानमन्त्री कोइरालाले सम्मेलनमा सहभागी हुन आएका आफ्ना समकक्षीलाई भेटघाट गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्