काठमाडौं । संविधानका विवादीत विषयमा छलफल गर्नका लागि संविधानसभामा प्रतिनिधित्व गर्ने प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठक आज बस्दैछ । बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठमा नयाँ संविधानका अन्तर्वस्तुमा दलबीच देखिएको मतभेदलाई सहमतिमा रुपान्तरण गर्ने विषयमा केन्द्रित हुने बताइएको छ । छिटो भन्दा छिटो संविधान जारी गर्न सहमति भएका विषयलाई सहमतिकै आधारमा मस्यौदा लैजाउँ भन्ने पाटोबाट एमाओवादीसँग छलफल गर्ने सोच बनाएको नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए । प्रमुख राजनीतिक दलबीच खासगरी राज्य पुनःसंरचनामा जाँदा प्रदेशको सङ्ख्या, नामाङ्कन र सीमाङ्कनका विषयमा गम्भीर मतभेद रहँदै आएको छ । शासकिय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीको विषयमा मसिनोसँग सहमति हुन सकेको छैन ।
लामो समयता मुख्य दलका शीर्ष नेताहरुका बीचमा सामुहिक छलफल हुन सकेको छैन् । आइतवार बसेको सत्तारुढ कांग्रेस एमालेका शीर्ष नेताहरुको बैठकले एक पटक एमाओवादी लगायतको विपक्षी दलहरुसंग गम्भिर छलफल गरेर सहमति नभए प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो ।