काठमाडौ । आज नेपाली कांग्रेसको प्रमुख भातृ संगठन भएपनि नेपाल विद्यार्थी संघको स्थापना दिवस । नेपाल बिद्यार्थी संघको २०२७ सालमा आज कै दिन जेलभित्र स्थापना भएको थियो । अहिले भने नेपाल बिद्यार्थी संघ आन्तरिक लोकतन्त्रको अभावमा थला परेको छ । २०६४ साल जेठ यता महाधिवेशन गर्न नसकेको नेविसंघको महाधिवेशन कम्तीमा दशैसम्म नहुने निश्चित भइसकेपछि यसको स्थापना दिवस पनि खल्लो भएको छ ।
२०२७ साल बैशाख ६ गते स्थापित नेपाल विद्यार्थी संघ पञ्चायत र निरकुंश राजतन्त्र विरोधी आन्दोलनमा प्रभावकारी शक्तिका रुपमा स्थापित भएको थियो । राजनीतिक र शैक्षिक एजेण्डामा आफूलाई खरो बनाएपनि आन्तरिक लोकतन्त्रको अभ्यासमा चुकेका कारण नेविसंघ अप्ठेरोमा परेको हो । नेपाली कांग्रेसको महाधिवेशन आसन्न भएका कारण नेविसंघको महाधिवेशन अनिश्चित छ । विद्यार्थी राजनीतिमा क्रियाशील रहेका अधिकांश नेताहरु कपाल फुल्दै गएपछि नेविसंघको राजनीतिबाट टाढिने क्रम समेत बढ्दो छ । आधा दर्जन पटक महाधिवेशनको मिति तोकिए पनि नेविसंघको महाधिवेशन हुन सकेको थिएन ।
६ महिनाभित्र महाधिवेशन गराउने म्याण्डेट पाएका रञ्जित कर्णले साढे ३ वर्ष संगठनको नेतृत्व गरेपनि महाधिवेशन गराउन सकेका छैनन् । नेविसंघको महाधिवेशन गराउन छाडेर नेता रिझाउन सफल भएपछि उनी सभाषदसमेत बनेका छन् तर नेविसंघको राजनीतिमा लागेका अरुको भने बेहाल भइसकेका छ ।
विद्यार्थी राजनीतिले पार लाग्ने नदेखेपछि नेविसंघको महाधिवेशन कुरेका अधिकांश नेताहरु पार्टीको महाधिवेशनमा क्रियाशी हुन थालेका छन् । अध्यक्षको प्रत्याशीका रुपमा हेरिएका मनोजमणि आचार्य,कुन्दन काफ्ले, नैनसिंह महर, जितजंग बस्नेत, गुरु बराल लगायतका नेताहरु पार्टी राजनीतिमा स्थापित हुने तयारीमा लागिसकेका छन् । पार्टी नेतृत्वको गुटबन्दीको छायाँबाट अलग हुन नसक्नु र संगठनभन्दा व्यक्ति प्रतिको वफादारिता बढ्नुले नेविसंघलाई यो हालतमा ल्याइ पु¥याएको बताउँछन् । ‘विद्यार्थीसंग घुलमिल गरेर केही नपाइने । कहिले सुशील दाई कहिले शेरबहादुर दाईको चाकडी गर्नुपर्नेछ । त्यसैले नेविसंघ खत्तम भो ।’, नेविसंघका एक नेताले भने ।
चारपटक महाधिवेशन भइसक्नुपर्ने अवधीमा एकपटक पनि महाधिवेशन हुन नसक्नु नै नेविसंघका लागि अभिशाप भइसकेको छ । त्यसैले हरेक वर्ष आउने बैशाख ६ को मिति र नेविसंघको स्थापना दिवसले कांग्रेसजनका लागि नेविसंघको गर्विलो ईतिहास सम्झेर गम खाने बाहेकको महत्व बोक्न छाडेको छ ।