नेभिगेशन
अन्य

सोमवारदेखि प्रधानमन्त्री इण्डोनेशिया भ्रमणमा

काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला इन्डोनेसिया भ्रमणका लागि वैशाख ७ गते त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । इन्डोनेशियाको जाकर्ता र बाङ्डुङ सहरमा आयोजना हुने एसियाली–अफ्रिकी सम्मेलनको ६०औँ तथा नयाँ एसियाली–अफ्रिकी रणनीतिक साझेदारी (नास्प) को १०औँ वार्षिकोेत्सवमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री कोइराला त्यसतर्फ जना लागेका हुन् । ‘विश्व शान्ति तथा समृद्धि प्रवद्र्धन गर्न दक्षिण–दक्षिण सहयोग सबलीकरण’ भन्ने नाराका साथ नास्पको सम्मेलन जाकर्तामा वैशाख ९ र १० गते आयोजना हुँदैछ भने एसियाली–अफ्रिकी सम्मेलनको ६०औँ वार्षिकोेत्सव बाङ्डुङ सहरमा वैशाख ११ गते आयोजना हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालले सन् १९५५ मा सम्पन्न पहिलो एसियाली–अफ्रिकी सम्मेलनदेखि नै भाग लिँदै आएको छ । सम्मेलनमा एसिया तथा अफ्रिकाका महादेशका १०९ देश, १६ पर्यवेक्षक मुलुकका प्रतिनिधि तथा २५ अन्तराष्ट्रिय सङ्गठनका प्रतिनिधिको सहभागिता रहने छ । ती दुवै सम्मेलनमा प्रधानमन्त्री कोइरालाका साथमा परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे, प्रधानमन्त्री कोइरालाका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराई, संयुक्त राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागी, प्रधानमन्त्री कोइरालाका निजी चिकित्सक प्राडा करविरनाथ योगी, परराष्ट्र मन्त्रालयका सहसचिव ताराप्रसाद पोखरेल, शिष्टाचार प्रमुख अर्जुनकान्त मैनाली, प्रधानमन्त्री कोइरालाका स्वकीय सचिव अतुल कोइराला, परराष्ट्र मन्त्रालयका उपसचिव लोकबहादुर कार्कीलगायतको सहभागिता रहने छ । सम्मेलनअन्तर्गत वरिष्ठ अधिकारीको बैठक वैशाख ६ गते जाकर्तामा सुरु हुनेछ । सोही बैठक भाग लिन परराष्ट्र मन्त्रालयका सचिव बैरागी र सहसचिव पोखरेल शुक्रबार त्यसतर्फ प्रस्थान गरिसकेकेका छन् । परराष्ट्र मन्त्रालयका प्रवक्तासमेत रहनुभएका पोखरेलले सम्मेलनमा एसिया र अफ्रिकी देशका बीचको सम्बन्ध र सहकार्यलाई आगामी दिनमा अझै कसरी बलियो बनाउँदै यस क्षेत्रका शान्ति र समृद्धि ल्याउने भन्ने विषयमा नै छलफल हुने जानकारी दिए । वैशाख ९ र १० गते राष्ट्र तथा सरकार प्रमुखको सम्मेलन आयोजना हुने कार्यक्रम तय भएकोे छ । पहिलो दिन सम्मेलनको शुभारम्भ सम्बोधन इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले गर्नेछन सोही दिन प्रधानमन्त्री कोइरालाले सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ । साथै सम्मेलनमा सहभागी अन्य राष्ट्र तथा सरकार प्रमुखले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । सोही दिन प्रधानमन्त्री कोइरालाले सम्मेलनमा सहभागी हुन आउनुभएका राष्ट्र तथा सरकार प्रमुखलाई भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्