काठमाडौँ । प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक, सभासद् एवम् पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको ८८ वर्षका उमेरमा यही वैशाख २ गते भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा निधन भएको समाचारले आफूलाई मर्माहत बनाएको बताए । उनले नेता थापाको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै उनीप्रति श्रद्धाञ्जलि अर्पणका साथ शोकसन्तप्त परिवारसहित स्वजनप्रति समवेदना प्रकट गरेका छन् । ‘मुलुक लोकतान्त्रिक संविधान निर्माणको संवेदनशील चरणमा रहेको अवस्थामा थापाजस्ता अनुभवी राजनीतिज्ञको सानिध्यले लोकतान्त्रिक संविधान निर्माणमा सबैलाई प्रेरणा मिल्दै आएको थियो, उनको निधनबाट लोकतान्त्रिक पद्धतिको स्थापना र विकासका लागि नेपाली जनताले झन्डै एक शताब्दी अगाडिदेखि गर्दै आएको सङ्घर्षको परिणामस्वरुप हासिल भएका सङ्घीयता, गणतन्त्र र समावेशितासहितको लोकतन्त्रजस्ता ऐतिहासिक उपलब्धिलाई संस्थागत गर्ने संविधान निर्माणमा थापाजस्ता अनुभवी राजनीतिज्ञको सहभागिता र परिपक्व सुझावकोे अभाव हामीलाई आगामी दिनमा खट्किने छ’ प्रधानमन्त्रीबाट आज जारी विज्ञप्तिमा भनिएको छ ।
प्रधानमन्त्री कोइरालाले उहाँको निधनबाट नेपालको राजनीतिक क्षेत्रले एक महत्वाकाक्षी, साहसी, दृढनिश्चयी, परिवर्तनलाई सहर्ष स्वीकार गर्ने कर्मठ र उदारवादी नेता तथा राप्रपाले कुशल सङ्गठक, प्रभावशाली नेता र संस्थापक अभिभावक गुमाएको उल्लेख गरेका छन् । उनका सद्गुणबाट प्रेरणा लिएर लोकतान्त्रिक संविधान निर्माणको ऐतिहासिक जिम्मेवारी पूरा गर्न सबै राजनीतिक दललाई एक जुट हुन आग्रह गर्दै प्रधानमन्त्रीले नेपाल र नेपालीको भविष्य सुरक्षित र उज्यालो बनाउने लोकतान्त्रिक संविधानको निर्माण नै उनीप्रति सच्चा श्रद्धाञ्जलि हुने विश्वास व्यक्त गरेका छन् । उनले शोकसन्तप्त परिवारजन र राप्रपाका समस्त नेता तथा कार्यकर्तालाई ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भन्ने कामना पनि गरेका छन् ।