काठमाडौं । एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले प्रदेश निर्माणको वैकल्पिक प्रस्तावमा धारणा नबनाउँदा संविधानका विवादित विषयमा दलीय सहमतिको प्रयास प्रभावित बनेको छ। नेपाली कांग्रेस र नेकपा एमालेसहित सत्तारूढ दलले पूर्व–पश्चिमलाई मधेस–पहाड नछुट्टिने गरी ६ प्रदेश बनाउनेलगायत विभिन्न विकल्प अघि सारे पनि एमाओवादी नेतृत्व मोर्चाले कुनै जवाफ दिएको छैन। कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूले संविधानका विवादित विषयमा दलहरू सहमतिनजिक पुगेको बताउँदै शीर्ष नेताहरूको बैठकले छिट्टै बाँकी मुद्दा टुंगोमा पुग्ने बताए। ‘संघीयतामा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मोर्चासँग कुरा गरेपछि शीर्ष नेता बसेर टुंग्याउने काम मात्र बाँकी छ,’ बडूले नागरिकसँग भने, ‘हामी उहाँहरूको जवाफको प्रतीक्षामा छौं।’
दलीय सहमतिका लागि विवादित विषयमा विभिन्न विकल्प अघि सारेका सत्तारुढ दुई दलले ६ प्रदेशसहित विवाद समाधान प्रस्ताव अघि सारेका छन्।
‘हामीले अघि सारेको पूर्व र पश्चिमका दुई प्रदेश मान्न माओवादी तयार भए बाँकी ४ प्रदेश उहाँहरूकै अनुसार मान्न पनि सकिन्छ,’ बडूले भने, ‘६ प्रदेशमा नै दलीय सहमतिको प्रयास गछौं ।’
एमाओवादी संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले कांग्रेस र एमालेले अघि सारेको प्रस्तावमा पार्टीभित्र छलफल सुरु भए पनि टुंगोमा पुग्न बाँकी रहेको बताए।