काठमाडौं । दुई सातादेखि जाजरकोटमा मौसमी रुघाखोकीका रूपमा देखा परेको रोग स्वाइन फ्लुका कारण फैलिएको पुष्टि भएको छ । रोगका कारण मंगलबार थप ४ जनाको मृत्यु भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको १२ जनाको थुकको नमुना परीक्षण गर्दा तीन जनामा स्वाइन फ्लु प्रमाणित भएको हो । टालेगाउँमा मंगलबार मृत्यु भएका सहित यस्तै लक्षणले ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । टालेगाउँ(२ की मैसरा सिंह, ३ की लछी नेपाली, ५ की धनकला दमाई र ६ का हस्ते कामीको मृत्यु भएको हो । उनीहरूमा ज्वरो आउने, छाती दुख्ने, श्वासप्रश्वास बन्द हुने र हातखुट्टा झम्झमाउने लक्षण देखिएको स्थानीय कल्दर सिंहले बताए । गाउँमा उक्त रोगको लक्षण भएका १ सय ५० भन्दा बढी बिरामी रहेको सिंहले जनाए । बिरामीको संख्या दिनहुँ बढ्दै गए पनि पर्याप्त स्वास्थ्य टोली नपुगेको स्थानीयले बताए । ुसरकार रोग नियन्त्रणमा छ भन्दै छ तर गाउँका बासिन्दा मर्ने क्रम बढ्दै छ,ु उनले भने । सरकारी अधिकारीहरूले भने पैंक, अर्छानी, टालेगाउँ, सक्ला, पजारु, नायकबाडामा फैलिएको रोेग नियन्त्रणमा रहेको दाबी गरेका छन् । रामीडाँडा, रोकायगाउँ, लह, कोर्ताङ, मजकोटलगायत गाविसमा पनि रोग फैलिएको स्थानीयले बताए । टालेगाउँ स्वास्थ्य चौकीका अहेब पेम्बा दोर्जे लामाले ज्वरो आउने, टाउको र छाती दुख्ने, बान्ता हुनेलगायत लक्षण भएका र कमजोर प्रतिरक्षा शक्तिका व्यक्तिको मृत्यु हुने गरेको बताए । उनका अनुसार यस्ता लक्षणका एक सय बिरामी उपचारका लागि दिनहुँ आउने गरेका छन् । नयाँ वर्षको पहिलो दिन मंगलबार बिदा भए पनि स्वास्थ्य संस्था खुला राखेर बिरामीको उपचार गरेको उनले बताए । सिजनल फ्लुबाट पैंक गाविसमा १०, अर्छानीमा १ र टालेगाउँमा ५ को मृत्यु भएको हो । टालेगाउँमा एकै दिन ४ जनाको मृत्यु भएपछि सदरमुकामबाट नेपाली सेनाका चिकित्सकको टोली मंगलबार नै त्यसतर्फ खटाइएको प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतले बताए । अहिले प्रकोपबाट सबैभन्दा बढी प्रभावित पैंक गाविसमा औषधिको कमी छ । काठमाडौं र नेपालगन्जबाट थप औषधि ल्याउन लागिएको बस्नेतले बताए ।
तापक्रम नबढे संक्रमण अझै केही दिन रहने जाजरकोटबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ल्याइएको १२ जनाको थुकको नमुना परीक्षण गर्दा तीन जनामा स्वाइन फ्लु देखिएको उल्लेख गर्दै इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले भने– ‘त्यहाँ हिजो पनि पानी पर्यो, अझै चिसो छ, न्यूनतम तापक्रम ७८ डिग्री रहिरहे यो संक्रमणको समय अझै लम्बिन सक्छ ।’ चिकित्सकहरूका अनुसार बेमौसमी वर्षा र कम तापक्रम हुने गरी मौसममा अचानक आएको परिवर्तनले त्यहाँ स्वाइन संक्रमण फैलिन अनुकूल वातावरण बनिरहेको छ । स्वाइनको भाइरस चिसोमा बढी प्रभावकारी हुन्छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २, २०७२