काठमाडौं । राष्ट्रपति डा रामवरण यादवले मुलुकमा लोकतान्त्रिक संस्कार र पद्धतिको संस्थागत जग बसाउनका निम्ति पनि संविधानसभाबाट अविलम्ब संविधान जारी हुनु अपरिहार्य भएको बताएका छन् । नयाँ वर्ष २०७२ सालका उपलक्ष्यमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै उनले नेपालीको चाहनाबमोजिम संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण भई देशमा शान्ति, स्थिरता र समृद्धिको नयाँ युग प्रारम्भ हुन सकोस् भन्ने हामी सबैको आकाक्षा रहिआएको बताएका छन् । नववर्षसँगै देशमा नयाँ लोकतान्त्रिक संविधान जारी भई राजनीतिक स्थिरता, आथिर्थ विकास र सामाजिक सद्भाव कायम हुन सकोस् भन्दै उनले जनतासँग गरिएका प्रतिबद्धता पूरा गर्न प्रेरणा मिलोस् भनी कामना गरेका छन् । उनले यो आकाक्षा पूरा गर्न राजनीतिक दलले तात्कालीक लाभहानिभन्दा माथि उठेर राष्ट्र र जनताको दीर्घकालीन हितलाई सर्वोपरि राखी देशका सबै वर्ग र क्षेत्रले अपनत्व महसुस गर्ने संविधान दिन सक्नुपर्ने बताएका छन् ।‘प्राकृतिक साधनस्रोतको अभाव नेपाललाई छैन, प्रचुर मात्रामा उपलब्ध त्यस्ता साधनस्रोतको प्रभावकारी र न्यायपूर्ण परिचालन गरी हरेक नेपाललाई समृद्ध तुल्याउन सकिन्छ, त्यसका निम्ति राजनीतिक, आथिर्थ, सामाजिक र भौगोलिक हिसाबले समेत एकताबद्ध भएर अघि बढ्नु जरुरी छ’ राष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ ।
यस्तै उपराष्ट्रपति परमानन्द झाले नव वर्ष २०७२ का उपलक्ष्यमा आज शुभकामना सन्देश दिँदै जनचाहनाबमोजिम लोकतान्त्रिक संविधानको निर्माणबाट नै नेपालीमा जनप्रतिनिधिमूलक लोकतान्त्रिक परिपाटी बलियो एवम् स्थायी हुन सक्छ भन्नेमा कुनै द्विविधा नभएको बताएका छन् । नेपाली जनताले अनवरत रुपमा गर्दै आएको बलिदानपूर्ण सङ्घर्ष र जनआन्दोलनबाट प्राप्त लोकतान्त्रिक उपलब्धिलाई संस्थागतरुपमा सुदृढ गर्नु नै आजको टड्कारो आवश्यकता भएको सन्देशमा उउनले गरेका छन् ।