काठमाडौं । काठमाडौं उपत्यका सहित देशका धेरै ठाउँमा आइतबार रातिदेखि नै पानी परेको छ । सोमबार दिनभर पानी पर्ने र रोकिने क्रम चलिरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मध्य र पूर्वी भागमा धेरै पानी परेको छ । उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । काठमाडौंमा ७ दशमलव ५ मिलिमिटर पानी परेको छ । सोमबार दिउँसो काठमाडौंमा एकछिन आकाश खुलेजस्तो भएपनि बेलुका पख फेरि बदली हुने महाशाखाका मौसमविद मिनकुमार अर्यालले बताए । पश्चिमबाट पूर्वतिर सर्दै गरेको न्युनचापीय प्रणालीसँगै अरब सागरबाट दक्षिणपूर्वी हुँदै आएको जलवाष्पको असरका कारण आइतबारदेखि देशभरको मौसम बदली भएको हो । बदलिएको मौसममा मंगलबारदेखि सामान्य सुधार आउने र पूर्ण सुधार आउन अझै केही दिन लाग्ने मौसमविद अर्यालले बताए । यसैबीच पहाडी र तराईका जिल्लामा अहिले हिउँदे बाली भित्र्याउने बेला भएकाले मौसमबारे जानकारी राख्न कृषि विज्ञले सुझाव दिएका छन् ।