काठमाडौं। बाग्लुङ निर्वाचन क्षेत्र नम्बर १ को उपनिर्वाचनको मतगणना भइरहेको छ। मतगणनाको प्रारम्भिक परिणाम अनुसार पाँच केन्द्रको ८७२९ मत गनिसक्दा कांग्रेसकी चम्पादेवी खड्काले ३८४१ मत प्राप्त गरेकी छन् । एमालेकी मनकुमारी केसीले ३४१९ मत पाएकी छन् भने एमाओवादीका कृष्ण केसीले ८९६ मत ल्याएका छन् । मतगणना बिहान ११ बजे सुरु भएको हो। बाग्लुङमा पहिलो पटक विद्युतीय मतदान गरिएको थियो, जसमा ३८ हजार मतदाताले मतदान गरेका थिए। जिल्ला निर्वाचन कार्यालयका प्रमुख टोलराज उपाध्यायले संविधान सभाको दोश्रो निर्वाचनमा ७६ प्रतिशत मतदान भएकोमा यसपटक भने केही कम अर्थात ७३ प्रतिशत मात्र मतदान भएको जानकारी दिएका थिए।
बाग्लुङ नगरपालिकासहित १९ वटा गाउँ विकास समितिका ७० वटा मतदान केन्द्रमा मतदाताहरुले शान्तिपूर्वक हिजो मतदान गरेका थिए ।