काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले सहमति, सहकार्य र एकताबाटै संविधान जारी हुने दृढता व्यक्त गर्दै त्यसमा ढुक्क हुन आग्रह गरेका छन् । बाग्मती सफाइ महाअभियानअन्तर्गत आज बिहान पवित्र तीर्थस्थल पशुपतिक्षेत्र नजिक तिलगङ्गा क्षेत्रमा भएको विशाल सभालाई सम्बोधन गर्दै उनले हिमाल, पहाड, तराई, महिला, आदिवासी, जनजाति सबैको अधिकार सुनिश्चित हुने गरी नयाँ संविधान जारी हुने बताए । अहिले आन्दोलनभन्दा पनि संविधान लेखन नै प्रमुख प्राथमिकता भएकाले सरकारको ध्यान त्यसैतर्फ केन्द्रित रहेको स्पष्ट गर्दैै प्रधानमन्त्री कोइरालाले भने ‘मुलुकले अब आन्दोलन थेग्न सक्दैन ।’ शान्ति, संविधान, विकास र आथिर्थ समृद्धि, नेपाली जनताको चाहना भएकाले जनताका ती आकाङ्क्षा पूरा गर्ने लक्ष्यलाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको प्रधानमन्त्री कोइरालाको कथन थियो । बाग्मती सफाइ अब साझा अभियान हुनुपर्छ भन्दै उनले महाअभियानमा जुट्न सबैलाई आग्रह गर्नुभयो । तिलगङ्गा क्षेत्रमा प्रधानन्यायाधीश रामकुमारप्रसाद साह, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलगायत सर्वसाधारणको उल्लेख्य सहभागिता थियो ।