नेभिगेशन
अन्य

बाग्लुङ क्षेत्र नम्बर १ मा आज उपनिर्वाचन

काठमाडौं । बाग्लुङ १ मा आज संविधानसभा उपनिर्वाचनका लागि मतदान भइरहेको छ । गत वर्ष मंसिर ४ मा भएको दोस्रो संविधानसभा निर्वाचनबाट सभासद निर्वाचित हरिबहादुर खड्काको सडक दुर्घटनामा निधन भएपछि उपनिर्वाचन गर्न लागिएको हो । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म विद्युतीय उपकरणमार्फत मतदान हुनेछ । आयोगले मतदातालाई निर्धक्क मतदानमा सहभागी हुन आग्रह गरेको छ । उपनिर्वाचनलाई नमुना बनाउन सुरक्षालगायत चुस्त व्यवस्था मिलाएको जनाउँदै आयोगले कसैको दबाब र डरधाकमा नपरी निर्धक्क भएर आफूले रोजेको उम्मेदवारलाई मतदान गर्न आग्रह गरेको हो । बाग्लुङ १ मा ५२ हजार २ सय २ मतदाता छन् । ३५ मतदानस्थल र ७० वटा मतदान केन्द्र कायम गरिएको निर्वाचन आयोगले जनाएको छ । ‘उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन आयोगले मतदान अधिकृत र सहायक मतदान अधिकृत गोलाप्रथाका आधारमा परिचालन गरेको छ,’ शर्माले भने, ‘सबै मतदान केन्द्रको गतिविधि थाहा पाउन सकिने गरी इभेन्ट ट्र्या्किङ प्रणालीसमेत अपनाइनेछ ।’ विद्युतीय मतदान मेसिनबाट मतदान हुने भएकाले निर्वाचन परिणाम छिट्टै सार्वजनिक हुने आयोगले जनाएको छ। मतदाता परिचयपत्र नभएका मतदातालाई नामावलीमा रहेको नाम र विवरणसँग मिल्ने नेपाली नागरिकता प्रमाणपत्र, जग्गाधनी प्रमाणपत्र, राहदानी, सवारीचालक अनुमतिपत्रका आधारमा मतदान गर्न दिइने व्यवस्था गरिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्