चितवन । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षलाई एकीकृत गरी आजदेखि राष्ट्रिय गैँडा गणना २०१५ सुरु हुँदैछ । गणनका लागि निकुञ्जको पूर्वी सेक्टरमा पर्ने प्रतापपुरमा हात्ती र गणक तथा आवश्यक सामग्री पुर्याइसकेको चितवन निकुञ्जले जनाएको छ । चितवन र पर्सा कम्पलेक्सअन्तर्गत पर्ने रमौली प्रतापपुरबाट गैँडा गणना सुरु हुने निकुञ्जका सूचना अधिकृत टीकाराम पौडेलले जानकारी दिए । गणनाका लागि ४० गणकलाई प्रशिक्षण दिएर तयार पारिएको उनले बताए । । यसपटक यहाँको गैँडा गणनाका लागि चितवन निकुञ्जको २८, पर्सा वन्यजन्तु आरक्षको चार र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको दुई गरी ३४ हात्ती परिचालन हुने निकुञ्जले जनाएको छ । गैँडा पाइने ब्लकलाई १९ भागमा विभाजन गरी १० स्थानमा क्याम्प राखेर गणना गरिने निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णु थपलियाले बताए । उनका अनुसार गणनाका लागि २५ दिन लाग्ने र रु ८० लाख रकम लाग्ने अनुमान गरिएको छ । .यस वर्ष गणनाका लागि जिपिएस, क्यामेरा, रेकर्ड फर्म, बाइनाकुलर एनड्रोइड मोबाइलको प्रयोग गरी कुनै पनि नछुटुन र कुनै पनि नदोहोरिउन भनेर सचेत हुँदै प्रत्यक्ष अवलोकन विधिको प्रयोग गरिने निकुञ्जले जनाएको छ । गणनाका लागि विश्व वन्यजन्तु कोष र एरियाज, युएसएआइडीको हरियो वन कार्यक्रमको प्राविधित तथा आथिर्थ सहयोग एवम् राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक एवम् व्यवस्थापकीय सहयोग प्राप्त भएको छ । चितवन निकुञ्ज र आसपास क्षेत्रमा यसअघि सन् २००० मा ५५४, सन् २००५ मा ३७२, सन् २००८ मा ४०८ र सन् २०११ मा ५०३ गैँडा भेटिएको तथ्याङ्क छ । यो वर्ष गैँडा बढ्ने अनुमान गरिएको छ ।