काठमाडौँ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङसँग नेपालको चारदिने औपचारिक भ्रमणमा रहेको दक्षिण एसियाका लागि युरोपेली संसद् समितिका पदाधिकारीले उनको सिंहदरबारस्थित कार्यकक्षमा आज भेटवार्ता गरेको छ । समितिका अध्यक्ष जिन ल्याम्बेर्ट नेतृत्वको उक्त प्रतिनिधिमण्डलले संविधान लेखन, भावी योजना र दलहरुबीच जारी वार्ताको प्रगतिबारे जिज्ञासा राखेको भेटवार्तापछि सभाध्यक्षले सञ्चारकर्मीलाई बताए । नेपालका राजनीतिक दल र तिनका नेताले आपसी सहमतिमा सबै विवाद टुङ्ग्याएर शीघ्र संविधान जारी गरुन् भन्ने चाहना प्रतिनिधिमण्डलले आफूसँग व्यक्त गरेको जानकारी उनले दिए ।
एमाओवादीसहित ३० दलीय मोर्चाले आह्वान गरेको तीनदिने आमहडताल फिर्ता हुनुले दलहरु वार्ता र संवादबाटै सहमतिमा पुग्न खोजेको महसुस आफूले गरेको जानकारी प्रतिनिधिमण्डललाई दिँदै सभाध्यक्षले भने – ‘यही चैत ३० गते ३ बजेसम्ममा सहमतिमा पुग्न मैले दल र तिनका नेतालाई बारम्बार झक्झक्याउँदै आएको छु ।’ संविधानका अन्तर्वस्तुमा सहमति जुट्नेमा आफू आशावादी रहेको जानकारी प्रतिनिधिमण्डललाई गराएको बताउँदै उनले उक्त प्रतिनिधिमण्डललाई पनि दल र तिनका नेतासँगको भेटवार्तामा शीघ्र सहमति कायम गर्न दबाब दिन अनुरोध गरेको बताए । ‘चैत ३० गते ३ बजेसम्ममा दलहरुबीच सहमति नभए संविधानसभाका सदस्यले नै बनाएको नियम र स्थापित मान्यताबमोजिम प्रक्रियामा जानुको विकल्प छैन भन्ने जानकारी पनि गराएँ,’ प्रतिनिधिमण्डलले सहमति नभए के हुन्छ भनेर गरेको जिज्ञासाको जवाफमा आफूले भनेको कुरा सुनाउँदै सभाध्यक्ष नेम्वाङले भने । भेटका बेला संसद्का महासचिव मनोहरप्रसाद भट्टराई, सचिव ठाकुरप्रसाद बराल, प्रवक्ता मुकुन्दप्रसाद पौडेल, सहप्रवक्ता सुदर्शन कुइँकेल र नेपालका लागि युरोपेली सङ्घका राजदूत रिन्चे टिरिङको उपस्थिति थियो ।