काठमाडौं । एमाओवादीका दोस्रो तहमा नेताहरुले बुधबार प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर विश्वासको वातावरण बनाउन आग्रह गरेका छन्। एमाओवादीका महासचिव कृष्णबहादुर महराको नेतृत्वमा बालुवाटार पुगेको टोलीले प्रधानमन्त्रीसँग संविधान लेखनका विवादित विषय र संविधान जारी गर्ने प्रक्रियाका बारेमा छलफल गरेका थिए। आम हडताल फिर्ता लिइसकेको अवस्थामा सार्थक वार्ता र ठोस् सहमतिका लागि विश्वासको वातावरण बनाउन प्रधानमन्त्रीबाट प्रभावकारी भूमिका निर्वाह हुनुपर्ने सुझाव दिएको महराले बताए। वार्तामा एमाओवादीका सचिव टोपबहादुर रायमाझीलगायतका नेताहरु सहभागी थिए। एमाओवादी नेताहरुले विषयको विवाद भन्दा अविश्वास नै समस्याका रुपमा देखिएको बताउँदै विश्वासको वातावरण बनेमा सहमति कठिन नरहेको धारणा राखेका थिए। प्रधानमन्त्रीले आन्तरिक छलफल र गृहकार्य गरेर ठोस् सहमतिका लागि छिटै निर्णायक बैठक डाक्ने आश्वासन दिएका थिए।
अविश्वासको वातावरण हटाएर सहमतिमा संविधान जारी गर्ने विषयमा सकारात्मक छलफल भएको वार्तापछि कांग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडुले बताए। उनले एमाओवादी बन्द हडताल फिर्ता लिएर सम्वादमा फर्किएकोले अब सार्थक वार्ता हुने बताए।एमाओवादीका महासचिव महराले विश्वासको वातावरण बनाउनेतर्फ वार्ता केन्द्रित रहेको बताए । यसैबीच आज नेपाली कांग्रेस र एमालेका बीचमा छलफल हुने बताइएको छ । कांग्रेस एमालेको छलफलपछि फेरि एमाले माओवादी छलफल गरि छिट्टै संयुक्त छलफलको तयारी भइरहेको छ ।