नेभिगेशन
अन्य

बन्द फिर्ता भएपछि एमाओवादी मोर्चामा भुईचालो, मोर्चा बिभाजनको संभावना

काठमाडौ । एमाओवादी नेतृत्वको मोर्चामा आमहडताल मध्ये २ दिनको कार्यक्रम फिर्ता लिएपछि मतान्तर बढेको छ । एमाओवादी नेतृत्वको मोर्चाले हिजो साँझ बैठक बसेर ३ दिनको आम हडताल मध्ये २ दिनको कार्यक्रम फिर्ता लिने निर्णय गरेको थियो । मोर्चाको यो निर्णयसंग मोर्चाभित्रका अनुदारवादी नेताहरुले असंतुष्टी जनाएका छन् । आमहतालका कार्यक्रम फिर्ता लिने निर्णय प्रति उपेन्द्र यादव, राजेन्द्र महत्तो र कुमार लिङदेनले असहमति जनाएका छन् । मधेशी जनअधिकार फोरमका नेपालका अध्यक्ष उपेन्द्र यादवले मंगलबार साँझ एक वक्तव्य जारी गरि आमहड्ताल फिर्ताप्रति असंतुष्टी जनाएका हुन । उनले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले जनजाति, मधेसी र उत्पीडित समुदायलाई धोका दिएको बताएका छन् । नेपाल बन्द फिर्ता लिने ३० दलको निर्णय लगत्तै प्रेस विद्दप्ति जारी गर्दै यादवले भनेका छन्– ‘प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले चैत्र २४, २५ र २६ गतेका लागि पूर्वघोषित आमहड्ताल फिर्ता लिएको निर्णयप्रति विपक्षी मोर्चाको एक प्रमुख घटक मधेसी जनअधिकार फोरम, नेपाल कडा आपत्ति प्रकट गर्दछ ।’ यसैगरि सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तोले तीन दिने आमहड्ताल फिर्ता लिएको प्रति कडा आपति जनाएका छन् । उनले अब आन्दोलनको लागि मधेशी मोर्चालाई अलग ढंगबाट सोच्ने आवश्यकता आएको बताए । आन्दोलन सम्बन्धमा काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष महतोले यस्तो बताएका हुन् । उनले आन्दोलन उत्कर्षमा पुग्न लागेको समयमा दाहाल र विजय गच्छेदार मिलेर बन्द फिर्ता लिएर अन्य दललाई धोका दिएको आरोप लगाए । यसैवीच नेपाल बन्द फिर्ता लिने निर्णयप्रति ३० दलीय मोर्चाको अर्को घटक संघीय लिम्बुवान नेपालले पनि असहमति जनाएको छ । ‘नेपाल बन्द फिर्ता लिने यो निर्णय हामीलाई पनि चित्त बुझेको छैन,’ लिम्बुवानका अध्यक्ष कुमार लिङदेनले भने, ‘मोर्चाका अन्य धेरै साथीहरु यो निर्णयमा असहमत हुनुहुन्छ ।’ यसैगरि पासाङ शेर्पाले नेतृत्व गरेको पार्टीले पनि नेपाल बन्द फिर्ता गर्ने निर्णयप्रति असहमति जनाएको छ । मोर्चा अर्को घटक अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीले पनि नेपाल बन्द फिर्ता लिने निर्णप्रति आपत्ति जनाएको छ । बन्द फिर्ता भएको सम्बन्धमा छलफल गर्न राईले बुधबार दिउँसो पार्टीको आकस्मिक बैठक डाकेको छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्