काठमाडौं । शिक्षक सेवा आयोगले देशभरी माध्यमिक र निम्न माध्यमिक तहका बिभिन्न विषयमा ३ हजार १ सय ८९ जना शिक्षक माग गरेको छ । मंगलबार गोरखापत्रमा सूचना प्रकाशित गरी आयोगले माध्यमिक तहमा १३ सय २९ र निम्न माध्यमिक तहमा १८ सय ६० जना शिक्षकको दरखास्त आह्वान गरेको हो ।
२०६३ बैशाख ११ गतेदेखि रिक्त रहेका दरबन्दीमा खुला र समावेशी आधारमा स्थायी पदपूर्ती लागि विज्ञापन आह्वान गरिएको शिक्षक सेवा आयोगले जनाएको छ । आयोगले मावि तहमा नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, स्वास्थ्य, जनसंख्या तथा वातावरण, लेखा, अर्थशास्त्र, शिक्षा, कम्प्युटर विज्ञान, संस्कृत ब्याकरण, स्वास्थ्य शारीरिक, संस्कृत साहित्य र संस्कृत भाषाका शिक्षकहरु माग गरेको छ ।
निमावि तहमा नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक र संस्कृत व्याकरणको शिक्षक माग गरिएको छ । यसअघिको विज्ञापनमा जिल्लागत रुपमा पद उल्लेख गरेर शिक्षक माग गरेपनि आयोगले यस पटक विकास क्षेत्रगत रुपमा मात्र पद संख्या उल्लेख गरेको छ ।
आयोगले यी पदहरुमा दरखास्त दिने अन्तिम मिति वैशाख २३ गते तोकेको छ । दोब्बर दस्तुर तिरेर बैशाखको ३० गतेसम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ । परीक्षा दस्तुर माध्यमिक तहका लागि ७ सय रुपैयाँ र निम्न माध्यमिक तहका लागि ४ सय रुपैयाँ तोकिएको छ । परीक्षा भने माध्यमिक तहको असार ११ गते हुनेछ भने निम्न माध्यमिक तहको असार १२ गते हुनेछ ।