नेभिगेशन
अन्य

काभ्रेमा सिलिण्डर बम बिस्फोटन

काठमाडौं । एमाओवादी नेतृत्वको मोर्चाले गरेको आमहडतालको पहिलो दिन काभ्रेमा सिलिण्डर बम बिस्फोटन भएको छ । बन्दकर्ताहरुले आज विहान सबेरै जनजीवनलाई त्रसित पार्न बनेपा नगरपालिका वडा नम्बर १० मा खाना पकाउने सिलिन्डर विस्फोट गराएका छन् । उग्रचण्डी पेट्रोल पम्प पछाडि सिलिन्डरमा आगो लगाएर विस्फोट गराएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक दीपक भारतीले जानकारी दिए । बनेपामै अर्को विस्फोटको आवाज सुनिए पनि ठाउँ भने यकिन नभएको भारतीले बताए । हिजो साझँ बनेपामा आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप भएको थियो आम हड्तालको पहिलो दिन आज छिमेकी मुलुक चीन जोड्ने स्थल मार्ग अरनिको राजमार्गमा विहानैदेखि सार्वजनिक यातायातका साधन चलेका छैनन् । अरनिको राजमार्ग यातायात नचल्दा काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र ओलढुंखाका नागरिक प्रभावित भएका छन् । राजधानीसँग छोटो दुरीमा पूर्वी तराईलाई जोड्ने बीपी राजमार्गमा पनि सार्वजनिक सवारीका साधन सञ्चालनमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार केसीले जानकारी दिए । बन्द आह्वान कर्ताहरु विहानैदेखि बनेपा, धुलिखेल, पनौती लगायतका चोक–चोकमा बसेका छन् । शिक्षण संस्था, कलकारखाना, होटल, पसल आशिंक रुपमा खुलेका छन् । यातायात ठप्प हुदाँ सर्वसाधरण नागरिकले सास्ती खेप्नुपरेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्