नेभिगेशन
अन्य

आम हड्ताल सफल बनाउने कुनै कसुर बाँकी नराख्ने ३० दलको निर्णय

काठमाडौं । एमाओवादी नेतृत्वको ३० दलीय गठबन्धन भोलिदेखिको तीन दिने देशव्यापी आमहड्ताल सफल बनाउन जस्तोसुकै कसर बाँकी नराख्ने भएको छ । एमाओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार अपराह्न ४ बजे बसेको गठबन्धनको बैठकले तीनै दिन बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म आमहड्ताल सफल बनाउने निर्णय गरेको बैठकपछि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताए । संविधानका विवादित विषयमा सहमति कायम गर्न सत्ता पक्षलाई दबाब दिने भन्दै गठबन्धनले आमहड्तालको घोषणा गरेको हो । ‘विभिन्न पक्षबाट आन्दोलनका कार्यक्रम गर्दा आमहडताल, बन्दलगायतमा पुनविर्वार गर्न दबाब आइरहेको छ । तर, गठबन्धनको बैठकमा तीन दिने आमहड्तालबारे पुनविर्वार गर्ने प्रस्ताव कुनै दलको नेताले राखेनन्’ महतोले भने । उनका अनुसार भोलि दिनभरको विरोध कार्यक्रमपछि साँझ साढे पाँच बजे मोर्चाको बैठक बसी आमहडतालको समीक्षा गरिनेछ । उनीहरूको विरोधका बाबजुद गत माघ ११ गते सभाध्यक्षले विवादित विषयमा प्रश्न तयार पार्न प्रस्ताव समिति गठन गर्ने निर्णय गरेपछि एमाओवादीलगायतको विपक्षी मोर्चाले संविधानसभा बहिष्कार गर्दै आएको छ । माघ २९ गते प्रस्ताव समितिले पेस गरेको प्रश्नावली सभाले अनुमोदन गर्दै सहमतिका लागि सभाध्यक्षले अनिश्चितकालका लागि स्थगित गरेको संविधानसभाको बैठक आज अपराह्न १ बजेका लागि डाकिएको थियो । सभाध्यक्षले बैठक बोलाउने विषयमा एकपक्षीय निर्णय गरेको भन्दै बैठक बहिष्कार गर्ने निर्णय गरेको एमाओवादी गठबन्धनले आजको बैठकमा एमाले पूर्वसभासद रामनाथ ढकालको निधनमा शोकप्रस्ताव अनुमोदन गर्ने जानकारी पाएपछि मानवीय संवेदनशीलतामा ध्यान दिँदै केही प्रतिनिधि उपस्थित गराएका थिए। त्यसैगरी रौतहट जिल्लामा सरकारी सेवाकेन्द्र विस्तारको विषयलाई लिएर गौरमा भएको घटनाको भर्त्सना गर्दै आन्दोलनकारीको माग तत्काल पूरा गराउन गठबन्धनले सरकारसमक्ष माग गरेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्