नेभिगेशन
अन्य

विवाद महाधिवेशनले टुंगो लगाउने गरि पार्टी एकता हुन्छ : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राप्रपा नेपाल र राप्रपाबीच विवादित विषयलाई संयुक्त महाधिवेशनबाट टुङ्ग्याउने गरी पार्टी एकता गर्ने तयारी भइरहेको बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा उनले सिद्धान्तको विवादमा बहस कायमै राखेर नमिलेका विषयलाई फरक मतका रुपमा सम्मान गर्दै उपयुक्त समयमा उपयुक्त निकायबाट निर्णय गर्ने गरी पार्टी एकता हुने विश्वास व्यक्त गरे । उनले भने– ‘पार्टी एकताको आधार गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षतालाई भन्दा पनि प्रजातान्त्रिक राष्ट्रवादी शक्तिको आवश्यकताको महसुस नै हो । संविधान निर्माण भएपछि पार्टीको प्राथमिकता फेरिएर आथिर्थ समृद्धि र सुशासनमा जोड दिन्छौँ ।’ सनातन धर्म सापेक्ष राष्ट्र हुने गरी सबै धर्म सम्मानसहितको सनातन हिन्दू राष्ट्र बनाउनुपर्ने विचार व्यक्त गर्दै उहाँले त्यसको अर्थ धर्मकै आधारमा कानुन र शासन बनाउनुपर्छ भन्ने आफूहरुको माग नरहेको बताए । अध्यक्ष थापाले छिटो संविधान निर्माण गर्न सत्ता पक्षले बहुमतको दम्भ र निषेधको राजनीति छाड्नुपर्ने र विपक्षीले पनि आन्दोलन छाड्नुपर्ने सुझाव दिँदै कसैको पनि एजेन्डालाई निषेध नगरी संविधानसभामा बसेर निकास खोजे संविधान आउने विश्वास व्यक्त गरे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्